काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीयतालाई बलियो बनाउनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखहरुले निष्पक्ष भएर सभा चलाउनुपर्ने बताएका छन्।
शुक्रबार संघीय संसद् सचिवालयले काठमाडौँमा आयोजना गरेको संघीय संसद् र प्रदेश सभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीयतालाई जोगाउनका निम्ति सभालाई निष्पक्ष रुपमा चलाउनुपर्ने बताएका हुन्।
उनले आफूहरुको व्यवहारले नै संघीय व्यवस्था बलियो हुने बताए। उनले संघीयता ल्याउनका लागि लडेका दलहरु पनि भाषणको रटानका नलागेर व्यवहारबाट पुष्टि गर्न लाग्नुपर्ने बताए।
उनले जनताले सुशासन र आर्थिक समृद्धि खोजेको भन्दै दलहरुले जनताको सो आकांक्षालाई पूरा गर्न लाग्नुपर्नेमा जोड दिए। उनले जनताले महशुस गर्ने गरी आर्थिक विकास, सुशासन दिन सकेमा संघीयताको विरोध गर्नेहरु कम हुने उल्लेख गरे।
उनले भने,’…जनप्रिय काम किन हुन सकेन? सुशासन हामी दिन सक्यौँ, सकेनौँ? जनप्रिय काम दिएका छौँ कि छैनौँ? आम नागरिकले सुशासनको महशुस गर्न पाए कि पाएनन्? सुशासन दिएको छु भनेर भएन, सुशासनको अनुभूति गर्नेले पायो कि पाएन? मुख्य कुरा त्यो हो?’
उनले थपे, ‘आर्थिक विकास के भइरहेको छ? विकास निर्माण र त्यसलाई प्रगतिपथमा लाने कुराहरुमा हाम्रा गतिविधिहरु केन्द्रित छ कि छैन? त्यो कुराले यसको लोकप्रियता बढाउने र घटाउने गर्छ। संघीयता चाहिँदैन भन्नेले भनिरहने एउटा कुरा भयो। चाहिन्छ भन्नेले व्यवहारबाट चाहिँदैन भन्ने संख्या घटाउँदै लाने हो। बोलेर घटाउने भन्दा व्यवहारले घटाउने। गरेर विरोधलाई निस्तेज पार्ने हो। यसकारण त्यो अभियानमा लाग्नुपर्ने हुन्छ।’


