काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आफ्नै पार्टीसमेत सहभागी भएको सरकारले एउटै समुदायलाई मात्रै राजदूतमा सिफारिस गरेको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। सरकारले विभिन्न ६ देशका लागि सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।
पार्टीनिकट कानुन व्यवसायीहरुको संगठन संघीय कानुन व्यवसायी संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष यादवले ती सिफारिस गरिएका सबै राजदूतहरु एउटै समुदायको रहेको उल्लेख गर्दै त्यसलाई कसरी समावेशी लोकतान्त्रिक अवधारणाअनुसारको नियुक्ति भन्ने भनि प्रश्नसमेत गरे।
उनले सरकारले गरेका राजनीतिक नियुक्तिहरु पनि समावेशी हुन नसकेको जिकिर गरे। अध्यक्ष यादवले जनसंख्याको आधारमा जनप्रतिनिधिमूलक संस्थाहरुको प्रतिनिधित्व गराउनुपर्नेमा त्यसो नभएकोसमेत बताए।


