काठमाडौँ- सरकार गठन र नेतृत्वबारे सत्ता गठबन्धनका शीर्ष नेताबीचको शुक्रबारको छलफल पनि निष्कर्षविहीन भएको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार साँझ बालुवाटारमा संवाद गरेका थिए।
यसअघि बिहीबार भएको भेटमा देउवाले पार्टीमा छलफल गर्नुपर्ने बताएपछि दाहाल शुक्रबार फेरि बालुवाटार पुगेका थिए।
देउवाले छलफलमा पार्टीका नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेताहरु कृष्ण सिटौला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी गराएका थिए।
छलफलका क्रममा देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने पार्टीको निर्णय देखाएका थिए।
कांग्रेस कार्यसम्पादन समितिले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो ।
माओवादी अध्यक्ष दाहालले भने अहिले कांग्रेसकै सरकार भएकाले आफूलाई पालो दिनुपर्ने बताउँदै आएका छन् ।
देउवाले भने पार्टी निर्णयभन्दा फरक निर्णय लिन पार्टीमा सल्लाह गर्नुपर्ने बताएका छन् ।
प्रचण्डसँग भएको छलफलमा सहभागी कांग्रेसका एक नेताले पनि शुक्रबार कुनै सहमति नभएको देशसञ्चारलाई बताए। बैठक शनिबार फेरि बस्नेगरी स्थगन भएको छ।


