इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गर्दै आफ्नो ‘प्लेअफ’ को गणितीय सम्भावना कायम राख्दा पञ्जाब भने प्रतियोगिताबाट औपचारिक रूपमा बाहिरिएको छ।
अन्तिम खेलमा जितका बाबजुत तत्काल शीर्ष चारमा नपरेको राजस्थान मुम्बई र बैंगलोरको फराकिलो हारको प्रतीक्षामा रहेको छ।
जितपछि राजस्थान बैंगलोर समान १४ अंक बनाएर पाँचौँ स्थानमा उक्लिएको छ। तर नेटरनरेटमा पछि रहँदा शीर्ष चारमा पर्न तत्काल असफल भएको छ। तर अब शीर्ष स्थानको गुजरात बैंगलोरलाई फराकिलो अन्तरले हराएमा राजस्थान नेटरनरेटमा अघि बढ्दै शीर्ष चारमा पुग्ने सम्भावना रहेको छ।
यता कोलकाता र मुम्बई पनि शीर्ष चारको दौडमा रहेका छन्।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। उसका लागि साम कुरानले ४९ रन बनाउँदा जितेश शर्माले ४४ रन बनाए।
त्यस्तै, शाहरुख खानले ४१ रनको नटआउट इनिङ खेल्दा कप्तान शिखर धवन १७ रन तथा अथर्व टाइडेले १९ रन बनाए। राजस्थानका लागि नभदिप सैनीले ३ विकेट लिएका थिए।
१ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले उक्त लक्ष्य २ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गरेको थियो। राजस्थानका लागि यशस्वी जैशवाल र देवदत पाडिकलले अर्धशतकीय इनिङ खेलेका थिए।
जैशवाल ५० रन तथा पाडिकलले ५१ रन बनाएका थिए। त्यस्तै, सिम्रन हेटमेयर ४६ रन बनाउँदा रियान परागले २० तथा धुर्व जुरेलले १० रन बनाएका थिए।


