बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहले विश्वको ध्यान लन्डनतिर खिचिएको छ । यही ६ मे शनिबार राजा चार्ल्सको रानी (क्विन कन्सोर्ट) क्यामिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेक हुने तयारी छ ।
बेलायतमा ९ सय वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरूको राज्याभिषेक हुने गरेको छ । उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुनेछन् । राजा चार्ल्सले राजमुकुटसमेत पहिरिने उक्त समारोहमा विश्व नेताहरू, राजपरिवार सदस्य, सेलिब्रेटी, स्वयंसेवक, सशस्त्र फौजलगायत झन्डै दुई हजार पाहुना सहभागी हुने अपेक्षा छ ।
टेलिभिजनमार्फत संसारभरिका करोडौं मानिसले प्रत्यक्ष हेर्ने अपेक्षा गरिएको एउटा बृहत् समारोहमा आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सलाई श्रीपेच पहिर्याउनेछन् । २.२३ किलो तौलको सुन र हीरा जवाहरात जडित उक्त श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् ।
राजाले यस समारोह सन् १९५३ मा भएको आफ्नी आमाको राज्याभिषेकको तुलनामा सानो, छोटो र विविधतायुक्त होस् भन्ने चाहेको बीबीसीले जनाएको छ ।
बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि ७३ वर्षको उमेरमा राज्यारोहण गरेका चार्ल्स संसारमै सबैभन्दा बढी उमेरका राजा हुन् । उनी अहिले १५ वटा कमनवेल्थ मुलुकका प्रमुख पनि छन् ।
उनी १४ नोभेम्बर १९४८ मा बकिङघम राजदरबारमा जन्मेका हुन् । उनकी आमा रानी एलिजाबेथ द्वितीयले गद्दी आरोहण गर्दा उनी चार वर्षका थिए । उनले लन्डन र स्कटल्यान्डमा अध्ययन गरेका थिए । २० वर्षको हुँदा उनलाई ‘प्रिन्स अफ वेल्स’ घोषणा गरिएको थियो ।
उनले २९ जुलाई १९८१ मा लेडी डायना स्पेन्सरसँग बिहे गरेका थिए । उनीहरूका दुई सन्तान छन्– युवराज विलियम र राजकुमार ह्यारी । उनीहरूबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेन । सन् १९९६ मा अलगअलग बस्न थाले । ३१ अगस्ट १९९७ मा पेरिसमा एउटा कार दुर्घटनामा लेडी डायनाको निधन भयो ।
चार्ल्सले सन् २००५ मा क्यामिला पार्करसँग विधिवत् बिहे गरे । राजा चार्ल्सले गत सेप्टेम्बरमा शपथ लिँदै गर्दा आफ्नी आमाको उदाहरण पछ्याउने प्रतिबद्धता गर्दै भनेका थिए, ‘अवधि, प्रतिबद्धता र समर्पणको हिसाबले उहाँको शासनसँग अरू कसैको तुलना हुन सक्दैन ।’
बेलायत र नेपालबीच सदियौं लामो मैत्रीपूर्ण तथा आत्मीय सम्बन्ध छ । बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालमा दुई ऐतिहासिक राजकीय भ्रमण गरेकी थिइन् । राजाको राज्याभिषेकमा नेपाली समुदाय पनि उत्साहित छ । बेलायतको लेस्टरका नेपालीले राज्याभिषेकलाई विशेष अवसरका रूपमा मनाउने भएका छन् ।
सृजनशील लेस्टर नेपाल यूकेले बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकका अवसरमा एक विशेष समारोह गर्ने भएको हो । संस्थाले राजाको दीर्घजीवन र सफल राजसिंहासनको कामना गर्न ८ मे सोमबार एक कार्यक्रम तय गरेको अध्यक्ष नारायण फुँयालले जनाए ।
बेलायती राजसंस्थाको नेपाल सम्बन्ध पनि प्रगाढ छ । राजपरिवारले गोर्खाहरूलाई अति विश्वास गर्छन् भने उनीहरूका कैयौं नेपाल भ्रमणसमेत भएका छन् । राजा चार्ल्सले युवराज हुँदा राजकीय तथा च्यारिटी गरी ५ पटक नेपाल भ्रमण गरेका थिए । उनले पदयात्रा गरेको पोखरानजिक अन्नपूर्ण हिमालयज मार्गलाई अहिले ‘द रोयल रुट’ नामकरण पनि गरिएको छ । द रोयल गोर्खा राइफल्सका सदस्यहरू राज्याभिषेकमा परेडका लागि अहिले अभ्यास गरिरहेका छन् ।
ब्रिटिस आर्मीको फस्ट रोयल गोर्खा राइफल्स् (वानआरजीआर) मा १३ वर्ष सेवा गरेर अवकाश लिएका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बेलायती राजसंस्थाप्रति बेग्लै झुकाव र सम्मान रहेको बताए । गाहामगरले स्वर्गीय महारानी एलिजाबेथसहित राजपरिवार सदस्यहरूसँग निकट हुने मौका पाएका थिए । सन् २००१ मेतिर स्कटिस युनिट रोयल हाइल्यान्डरमा काम गर्थे उनी ।
प्रत्येक २५ वर्षमा हुने हाइल्यान्डर परेडमा प्रिन्स चार्ल्स र प्रिन्स फिलिपलाई भेट्न पाएका थिए गाहामगरले । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी बेलायतले भारतमा शासन गर्दाकै समयदेखि बेलायती राजपरिवार सदस्यहरूले सिकार गर्न होस् वा अन्य प्रयोजनका लागि नेपाल भ्रमण गरेको बताउँछन् । ‘त्यसैले बेलायती राजसंस्थाको नेपालप्रति विशेष लगाव र श्रद्धा विभिन्न रूपमा व्यक्त हुँदै आएको छ,’ सुवेदीले भने ।
सुवेदीको बुझाइमा चार्ल्स एक भद्र र शालीन राजा हुन्, जसले समाज कल्याणमा ठूलो योगदान दिएका छन् । नेपालप्रति विशेष सद्भाव राख्ने राजा चार्ल्स तृतीयको राज्याभिषेक सफल रहोस् भन्ने पनि उनको शुभकामना छ ।
संसारमा बदलिँदै गरेको वातावरणीय प्रभावबारे युवराज छँदादेखि नै विशेष चासो राख्दै आएका राजा चार्ल्स तृतीयले नेपालजस्तो मुलुकमा वातावरणीय प्रभावले धेरै असर गर्न सक्ने भएकाले पनि नेपालप्रति विशेष चासो र माया व्यक्त गरेका छन् । नेपाल भ्रमण गरेर नेपालको सुन्दरता र पर्यावरणबाट आफूमा दीर्घकालीन प्रभाव परेको उनले बताएका थिए ।
नेपालका परराष्ट्रमन्त्री एनपी साउद बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार राति लन्डन आइपुगेका छन् । मन्त्री साउद वेस्टमिनिस्टर आबीमा राज्याभिषेक समारोह र बकिङघम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ मा स्वदेश फर्कने तालिका छ । बेलायतमा ७० वर्षपछि हुन लागेको राज्याभिषेक समारोहप्रति सकारात्मक र नकारात्मक दुवैखाले धारणा सार्वजनिक भएका छन् ।
हालै गरिएको ‘यूगभ’ को सर्वेक्षणमा ५२ प्रतिशत लन्डनवासीले करदाताले तिरेको पैसाबाट समारोह गर्न आवश्यक नभएको बताएका थिए । महँगीका कारण जनता आजित भइरहँदा कतिपयलाई यो समारोहप्रति चासो पनि छैन । बेलायतको द डिपार्टमेन्ट फर डिजिटल, कल्चर, मिडिया एन्ड स्पोर्टसले इभेन्ट नभएसम्म खर्च कति हुन्छ अहिल्यै भन्न नसकिने जनाएको छ तर अखबारहरूले कम्तीमा १ सय मिलियन पाउन्ड खर्च हुने उल्लेख गरेका छन् ।

