काठमाडाैं । प्रहरीले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको घटनामा पाण्डे पनि जोडिएपछि पक्राउ गरेको काठमाडाैं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँलाई सामान्य सोधपुछका लागि पक्राउ गरिएको ज्ञवालीले बताउनुभयो ।
पक्राउ परेका सचिव पाण्डे अहिले उपराष्ट्रपति कार्यालयको सचिव हुनुहुन्छ भने उहाँ यसअघि गृह मन्त्रालयको समेत सचिव भइसक्नुभएको छ ।
पाण्डेलाई पक्राउ गर्न प्रहरीले हिजो मङ्गलवार जिल्ला अदालत काठमाडाैंबाट पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीका अनुसार सचिव पाण्डे गृह सचिव भएकै बेला नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहसँग लेनदेनमा सक्रिय भएको अनुमान छ । यसै घटनामा प्रहरीले अस्ति पूर्वगृहमन्त्री इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।


