गण्डकी — बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानीले सातौं पोखरा स्पोर्ट्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ३५ वर्षयता प्रशिक्षक रहेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागेको हो ।
वैशाख २३ मा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गर्न लागिएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । स्थायी घर तनहुँ भएका मर्सानी १५ वर्षकै उमेरबाट बक्सिङमा लागेका हुन् ।
४ दशकअघि मर्सानीले पहिलो पटक बक्सिङ प्रतियोगितामा भाग लिए । २०३७ सालमा भैरहवामा आयोजित पहिलो राष्ट्रिय प्रतियोगिता खेल्न उनी गण्डकी अञ्चलबाट छनोट भए । पहिलो सहभागितामै उनले कांस्य पदक जिते । २०३८ मा काठमाडौंमा बृहत् राष्ट्रिय खेलकुदमा सहभागी भए । वीरगन्जमा सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा रजत पदक पाए । २०४१ को नवौं बक्सिङ प्रतियोगितामा स्वर्ण जिते ।
मर्सानीले २०४२ मा पहिलो पटक प्रशिक्षकको जिम्मा लिए, जब उनी सहायक प्रशिक्षकका रूपमा खेलकुद विकास समितिमा लागेका थिए । दुई वर्ष भारतमा अध्ययन सकाएपछि उनी फुल टाइम प्रशिक्षकका रूपमा नेपाली राष्ट्रिय बक्सिङ टिममा प्रवेश गरे । ३५ वर्ष जागिर पूरा गरेपछि उनी २०७७ मा अनिवार्य अवकाश लिएर निस्किएका हुन् । उनको प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा १० पदकमा २ स्वर्ण, ५ रजत र २ कांस्य प्राप्त गरेका थिए । त्यसपछि, नवौं सागमा प्रशिक्षक भई पाकिस्तानको इस्लामाबाद पुगे ।
२०५७ मा यू–१९ साफ खेलकुदमा उत्कृष्ट प्रदर्शनपश्चात् शिक्षा पुरस्कारबाट पुरस्कृत भए । उनैको योगदानको कदरस्वरूप उनलाई सातौं पोखरा स्पोर्ट्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको हो । अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन्् ।

