इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शनिबार भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै लिग अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
कोलकाताको मैदानमा टस जितेको गुजरातले घरेलु टोलीलाई पहिले ब्याटिङको निम्ता दिएको थियो। जहाँ कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। उसका लागि अफगानी खेलाडी रमनुल्लाह गुर्वाजले ८१ रनको इनिङ खेल्दा आन्द्रे रसेलले ३४ रन बनाए। त्यस्तै, नारायान जगदिशन र रिन्कु सिंहले समान १९ रन बनाएका थिए।
गुजरातका लागि मोहम्मद शामीले ३ विकेट लिँदा जो लिट्टे र नुर अहम्मदले समान २ विकेट लिएका थिए।
१ सय ८० रनको लक्ष्य पछ्याएको गुजरातले १३ बलअगाडि नै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। उसका लागि शुभमन गिलले ४९ रन बनाउँदा विजय शंकर र डेभिड मिलरले शानदार अविजित इनिङ खेलेका थिए। विजय ५१ रनमा अविजित रहँदा मिलरले ३२ रन बनाएर साथ दिएका थिए।
त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले २६ रन बनाउँदा ओपनर ऋद्धिमान साहले १० रन बनाएका थिए। जितसँगै गुजरात ८ खेलबाट १२ अङ्कका साथ शीर्ष स्थानमा उक्लिँदा पराजित कोलकाता भने सिजनमा छैटौं हार भोग्दै ९ खेलबाट ६ अङ्कका साथ सातौं स्थानमा रहेको छ।


