काठमाडौं । नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख र चारतारे झण्डाको प्रयोग रोक्न माग गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ ।
१५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले रुख र चारतारे झण्डा प्रयोग गर्दै समानान्तर महाधिवेशन अघि बढाएपछि कांग्रेस आयोग जान लागेको हो ।
कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन माग गर्ने तयारी गरेको एक शीर्ष नेताले जानकारी गराए ।
‘एउटै पार्टीको दुईवटा महाधिवेशन हुन सक्दैन । कांग्रेसको महाधिवेशन सम्पन्न भएर निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको छ,’ एक पदाधिकारीले भने, ‘कांग्रेसको रुख र झण्डा प्रयोग गरेर अर्को महाधिवेशन गर्न मिल्दैन ।
त्यसैले हामी आयोग जान्छौं ।’ देउवा समूह भने पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै प्रदेश अधिवेशनहरू गरिरहेको छ ।
साे समूहले आगामी २१ देखि २३ मंसिरसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ ।


