अहिले स्थानीय, प्रदेश, राष्ट्रियसभालगायत निर्वाचन एकसाथ गर्ने कि छुट्टाछुट्टै भन्ने बहस फेरि चर्किएको छ । दलहरूबीच छलफल भए पनि स्पष्ट निष्कर्ष निस्किसकेको छैन । तर, नेपालजस्तो आर्थिक रूपमा कमजोर मुलुक वर्षभरि निर्वाचनको चक्रव्यूहमा अल्झिरहनु राष्ट्रिय हितमा छैन । त्यसैले स्थानीय र प्रदेश निर्वाचन सकेसम्म एकै समयमा गर्नुपर्छ । बाँकी समय विकास निर्माण र सुशासनमा केन्द्रित हुनुपर्छ ।
निर्वाचन लोकतन्त्रको प्राण हो । तर लोकतन्त्र केवल निर्वाचनको नाममा सीमित रहनु हुँदैन । निर्वाचन साधन हो, साध्य होइन । साध्य भनेको जनताको जीवनस्तर उकास्नु, रोजगारी सिर्जना गर्नु, पूर्वाधार निर्माण गर्नु र सेवा प्रवाह सुधार्नु हो । हाम्रो मुलुकमा भने निर्वाचन नै साध्य बन्ने प्रवृत्ति देखिन्छ । स्थानीय निर्वाचन सकिएको केही समयमै प्रदेश र संघीय निर्वाचनको तयारी सुरु हुन्छ । दलहरूले विकासका योजनाभन्दा बढी उम्मेदवारी, गठबन्धन र प्रचारमा ध्यान दिन्छन् । यसले प्रशासनिक संयन्त्रलाई निरन्तर चुनावी मोडमा राख्छ र विकास निर्माण ओझेलमा पर्छ ।
एकै समयमा निर्वाचन गर्दा सबैभन्दा ठूलो फाइदा खर्च बचत हुन्छ । नेपालजस्तो देशमा प्रत्येक निर्वाचनमा अर्बौं रुपैयाँ खर्च हुन्छ । सुरक्षाकर्मी परिचालन, मतदान सामग्री, कर्मचारीको भत्ता, यातायात र प्रचार सामग्रीमा ठूलो रकम जान्छ । छुट्टाछुट्टै निर्वाचन गर्दा यो खर्च दोब्बर–तेब्बर हुन्छ । त्यसै रकमलाई सडक, विद्यालय, अस्पताल, सिँचाइ र रोजगारीका कार्यक्रममा लगाउन सकिन्छ । आर्थिक रूपमा कमजोर मुलुकले वर्षैभरि चुनावी खर्च बोक्न सक्दैन । दोस्रो फाइदा राजनीतिक स्थिरता र शासनको निरन्तरता हो । निर्वाचन सकिएपछि सरकारले केही वर्ष निर्धक्क भएर काम गर्न पाउँछ । तेस्रो फाइदा मतदाताको थकान कम हुनु हो । बारम्बार मतदानमा जानुपर्दा मतदातामा उदासीनता बढ्छ । मतदान प्रतिशत घट्छ र लोकतन्त्र कमजोर हुन्छ । एकैचोटि निर्वाचन गर्दा मतदातालाई सहज हुन्छ र सहभागिता पनि बढ्न सक्छ ।
केही दल र विश्लेषकहरूले छुट्टाछुट्टै निर्वाचनको पक्षमा तर्क गर्दै आएका छन् । उनीहरूले स्थानीय र प्रदेशको मुद्दा फरक हुने भएकाले छुट्टाछुट्टै गर्दा स्थानीय मुद्दामा केन्द्रित हुन सकिने बताउँदै आएका छन् । यो तर्क आंशिक रूपमा सही हो । तर व्यवहारमा दलहरूले स्थानीय निर्वाचनलाई पनि केन्द्रीय राजनीतिका आधारमा लड्ने गरेका छन् । उम्मेदवार चयनदेखि गठबन्धनसम्म सबै कुरा केन्द्रीय नेतृत्वबाट निर्देशित हुन्छ । त्यसैले छुट्टाछुट्टै गर्दा पनि स्थानीय मुद्दामा खासै ध्यान गएको देखिँदैन । बरु खर्च र अस्थिरता बढेको छ ।
हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा निर्वाचन वर्षभरि चल्नु विलासिता हो । विकसित मुलुकहरूले पनि सकेसम्म एकै समयमा निर्वाचन गर्ने अभ्यास अपनाएका छन् । भारतमा समेत केही राज्यमा एकसाथ निर्वाचनको अभ्यास छ । नेपालले पनि यसबाट सिक्नुपर्छ । अहिलेको बहसलाई निष्कर्षमा पु¥याउन दलहरूले राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ । निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरूले एकै समयमा निर्वाचन गर्ने गरी कानूनी र व्यावहारिक तयारी अगाडि बढाउनुपर्छ । संविधानले अनुमति दिएको सीमाभित्र रहेर यसलाई सम्भव बनाउन सकिन्छ । जनधारणा साप्ताहिक

