सप्तरी । सप्तरीमा नौ महिनाभित्र एक हजार २६ मतदाता थपिएका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा पुरुष दुई लाख ३३ हजार ९६, महिला दुई लाख १३ हजार २८३ र अन्य २३ मतदाता गरी चार लाख ४६ हजार ४०२ मतदाता थिए ।
त्यसपछिका नौ महिनामा मतदाता थपिएपछि चार लाख ४७ हजार ४२८ मतदाता पुगेको जिल्ला निर्वाचन प्रमुख रञ्जित कार्कीले जानकारी दिए ।
‘हाल एक हजार २६ मतदाता थपिएपछि जिल्लामा पुरुष दुई लाख ३४ हजार १६, महिला दुई लाख १३ हजार ३९० तथा अन्य २२ मतदाता छन्,’ उनले भने, ‘पछिल्लो नौ महिनाको अवधिमा पुरुष मतदाता ९२० र महिला मतदाता १०७ थपिएका छन् ।’
जिल्लाका नौ नगरपालिका र नौ गाउँपालिकामा रहेका मतदाताको सङ्ख्या सार्वजनिक गरिएको छ ।
पालिकागत विवरणअनुसार राजविराज नगरपालिकामा सबैभन्दा बढी ४५ हजार ४६ मतदाता कायम रहेका छन् । कञ्चनरूप नगरपालिकामा ३७ हजार ८६४, सुरुङ्गा नगरपालिकामा ३२ हजार २३९, हनुमाननगर कङ्कालिनी नगरपालिकामा ३० हजार ५३१, डाक्नेश्वरी नगरपालिकामा ३० हजार ३९६, बोदेबर्साइन नगरपालिकामा ३० हजार ३०७, शम्भुनाथ नगरपालिकामा २५ हजार ५२, सप्तकोशी नगरपालिकामा १५ हजार ८८८ र खडक नगरपालिकामा ३३ हजार ८४ मतदाता रहेका छन् ।
यसैगरी, अग्निसाइर कृष्णासवरण गाउँपालिकामा २० हजार १२, रुपनी गाउँपालिकामा १९ हजार ७०१, छिन्नमस्ता गाउँपालिकामा १९ हजार ८९६, तिलाठी कोइलाडी गाउँपालिकामा २१ हजार ६३८, महादेवा गाउँपालिकामा १८ हजार ७९१, विष्णुपुर गाउँपालिकामा १६ हजार ६९१, बलानबिहुल गाउँपालिकामा १५ हजार ४७८, तिरहुत गाउँपालिकामा १५ हजार २८६ र राजगढ गाउँपालिकामा १९ हजार ५८४ मतदाता रहेको निर्वाचन प्रमुख कार्कीले जानकारी दिए ।


