काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासी परिवारलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आङ्देम्बेले व्यवस्थापन र लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राखिएका सुकुमबासीलाई जाडोको समयमा होल्डिङ सेन्टरबाट समेत हटाउन खोज्नु उचित नभएको बताएका छन् ।
उनका अनुसार भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको छ । उनले यस्तो कदमले भूमिहीन परिवारलाई थप समस्यामा पार्ने उल्लेख गरेका छन् ।
आङ्देम्बेले देशभर आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित तथा सुकुमबासीको हकमा पहिले जग्गाको व्यवस्थापन र आवासको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् । आवासको टुङ्गो लगाएपछि मात्रै अन्य व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।
‘वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्याउने अधिकार सरकारलाई छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसैबीच, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको थियाे ।


