काठमाडाैं । सर्वोच्च अदालतमा विचाराधीन कांग्रेस आधिकारिकता विवाद निरूपणमा ढिलाइ भैरहेको तथा निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक गरेकै दिन शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ गर्ने निर्णय गरेको छ । १५औँ महाधिवेशनको तयारी र हालसम्मको प्रगतिबारे छलफल गर्न चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार बसेको महाधिवेशन तयारी समितिको बैठकले मतदानबारे निर्णय लिएको हो ।
आगामी २१–२३ मंसिरमा काठमाडौंको खुलामञ्चमा देउवा पक्षको महाधिवेशन हुँदै छ । उद्घाटनसँगै बन्दसत्र र भोटिङ पनि खुलामञ्चमै गरिने नेता एनपी साउदले बताए । ‘महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने भएका छौँ । उद्घाटन, बन्दसत्र र भोटिङ खुलामञ्चमै हुनेछ,’ साउदले भने ।
महाधिवेशनमा १० हजारभन्दा बढी प्रतिनिधि सहभागी गराउने देउवा पक्षको तयारी छ । केन्द्रीय सदस्यदेखि गाउँपालिका प्रमुख/उपप्रमुखसम्म स्वतः प्रतिनिधि बन्नेछन् । केन्द्रीय सदस्य, संघीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि हुने केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले बताइन् ।
‘जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय भएको छ । त्यसकारण १५औँ महाधिवेशनमा १० हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।’ तिमिल्सिनाले भनिन्, ‘हामी १५औँ महाधिवेशनको तयारीमा छौँ । उत्साहजनक रूपमा अधिवेशनहरू भइरहेका छन् ।’
प्रतिनिधि शुल्क तीन हजार लिने निर्णय भएको छ । भोजनको व्यवस्था भोजन व्यवस्थापन समितिले गर्नेछ । आवासको व्यवस्था प्रतिनिधि आफैँले गर्ने{बारे छलफल चलिरहेको छ । प्रवक्ताको जिम्मेवारी प्रकाशशरण महतलाई दिइएको छ । मञ्च व्यवस्थापनको जिम्मा काठमाडौं जिल्ला कार्यसमितिलाई दिइएको छ । र, महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति गठनको जिम्मा संयोजक शशांक कोइरालालाई दिइएको छ ।
६० जिल्लामा अधिवेशन, १४ मंसिरसम्म जिल्ला अधिवेशन सक्ने तयारी
देउवा पक्षले ७७ जिल्लामध्ये ६० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । बाँकी जिल्ला अधिवेशन १४ मंसिरसम्म सम्पन्न गर्ने १५औँ महाधिवेशन आयोजक समितिको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले बताए । ‘जिल्ला अधिवेशन सम्पन्न हुने क्रम अन्तिम चरणमा पुगेको छ । अब केही जिल्लामा मात्र अधिवेशन सम्पन्न गर्न बाँकी छ । कोशीमा ताप्लेजुङ, मधेशमा रौतहट, सर्लाही, सिराहा, बागमतीमा भक्तपुर, मकवानपुर, रामेछाप, सिन्धुली, लुम्बिनीमा रुकुमपूर्व, कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा अछाममा जिल्ला अधिवेशन गर्न बाँकी छ,’ उनले भने, ‘विधिवत् रूपमा कम खर्चमा महाधिवेशन गर्दै छौँ । सभ्य र भव्य रूपमा १५औँ महाधिवेशन सम्पन्न गर्दै छौँ । मंसिरभित्र सम्पन्न गर्छौँ ।’ उनका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये १५० वटामा अधिवेशन सम्पन्न भएको छ भने १५ वटा क्षेत्रमा बाँकी छ ।
गण्डकी र लुम्बिनीमा अधिवेशन सम्पन्न, बाँकीमा तयारी
देउवा पक्षले वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न भएको छ । गण्डकीको अधिवेशनबाट प्रदेश सभापतिमा मेखलाल श्रेष्ठ र लुम्बिनीमा रोज राणा चयन भएका छन् । १३ मंसिरमा कर्णाली, १४ मंसिरमा मधेश, १५ मंसिरमा सुदूरपश्चिम, १७ मंसिरमा कोशी र १८ मंसिरमा बागमती प्रदेश अधिवेशन हुने कुइँकेलले बताए ।
केन्द्रमा पदाधिकारी थप्ने तयारी
महाधिवेशनबाट केन्द्रमा पदाधिकारीको संख्या बढाउने तयारी छ । विधान मस्यौदा समितिको संयोजक शिव हुमागाईंले विधान मस्यौदा तयार पारिरहेका छन् । यद्यपि, नेता साउदका अनुसार पदाधिकारीको संख्या थप्नेबारे निर्णय भइसकेको छैन । ‘पदाधिकारी थप्नेबारे निर्णय भइसकेको छैन । विधान मस्यौदाको काम भइरहेको छ । केही संख्या थपिन सक्छ । तर, कुन पद थप्ने भन्ने निर्णय भएको छैन,’ साउदले भने ।
बुधबारको बैठकमा उनले विधान मस्यौदा पेस गरेनन् । आवश्यक तयारी भइरहेको केन्द्रीय सदस्य तिमिल्सिनाले बताइन् । केन्द्रमा पनि प्रदेशमा जस्तै पदाधिकारी संख्या बढाउने विषयमा छलफल भइरहेको छ । हुमागार्ईंले १६ मंसिरको बैठकमा विधान मस्यौदा पेस गर्ने तयारी छ ।
प्रदेश कार्यसमितिमा पनि पदाधिकारी संख्या वृद्धि गरिएको छ । यसअघि दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था रहेकामा अब उपसभापति चार र महामन्त्री चार रहनेछन् । प्रदेशमा एक महिलासहित तीन उपसभापति निर्वाचित हुनेछन् भने एक मनोनीत हुनेछन् । तीन महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने व्यवस्था गरिएको छ । सहमहामन्त्रीको संख्या पनि बढाइएको छ । एक महिला र ४० वर्षमुनिको एक युवासहित तीन सहमहामन्त्री निर्वाचित हुनेछन् भने दुई मनोनीत हुनेछन् । कोषाध्यक्ष मनोनीत हुनेछन् ।
राजनीतिक विरासत सुरक्षित राख्न देश दौडाहामा देउवा
पाँचपटक प्रधानमन्त्री र दुईपटक पार्टी सभापतिको जिम्मेवारी सम्हालेका शेरबहादुर देउवा देश दौडाहामा छन् । काठमाडौं, ललितपुर, बागलुङसहितका केही जिल्ला अधिवेशनमा सहभागी भएका देउवा प्रदेश अधिवेशनहरूमा सहभागी भइरहेका छन् । गण्डकी र लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न भइसकेको छ । दुवै प्रदेशमा देउवाले अधिवेशन उद्घाटन गरेका हुन् । अन्य प्रदेश अधिवेशनमा पनि देउवा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । निकट नेताहरूका अनुसार देउवाको दौडाहा पद प्राप्तिका लागि भन्दा राजनीतिक विरासत सुरक्षित राख्ने रणनीतिका रूपमा हो । पार्टीभित्रको विवाद र नेतृत्वको वैधतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । निर्वाचन आयोगले गरेको निर्णय र अदालतको फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरवलोकनका लागि निस्सा प्राप्त भएको देउवा पक्षका नेता कुइँकेल बताउँछन् ।
निधि सभापतिमा उठ्ने, शशांकलाई गराए जानकारी
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने भएका छन् । निधिले महाधिवेशन तयारी समितिको बैठकअघि संयोजक शशांक कोइरालालाई चुवदेवीस्थित सम्पर्क कार्यालयमै भेटेर आफू सभापतिको उम्मेदवार बन्ने जानकारी गराएका छन् ।
‘तपाईंलाई महाधिवेशन तयारी समितिको संयोजक बनाउन मैले सहयोग गरेकै हो । अब महाधिवेशनमा म सभापतिको उम्मेदवार बन्छु यो जानकारी गराउँछु,’ निधिको भनाइ उद्धृत गर्दै एक नेताले भने । कोइरालाले भने निधिको उक्त सवालमा जवाफ नदिएको ती नेताले दाबी गरे ।
नेताहरूका अनुसार निधिले भावी सभापतिका लागि आवश्यक तयारी पनि अघि बढाएका छन् । उनले गृहप्रदेश मधेशका साथै प्रदेश अधिवेशन सम्पन्न भएका गण्डकी र लुम्बिनीका नेताहरूसँग छलफल गरिसकेका छन् । अन्य प्रदेशका नेताहरूसँग पनि छलफल गर्दै छन् ।
नेताहरूका अनुसार निधिले जिल्लाहरूमा पनि सम्पर्क बढाएका छन् । छलफलको क्रममा उनले समावेशीको एजेन्डा अघि बढाएका छन् । तर, निधिले सार्वजनिक रूपमा भने उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
नयाँ पत्रिका देल्ली


