काठमाडौं । बैङ्किङ कसुर र ठगी प्रकरणमा तानिएका दुई ‘हाई प्रोफाइल’ प्रहरीको खोजी सूचीमा छन् ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ र पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । बैङ्किङ कसुर मुद्दामा बानियाँबिरुद्ध उच्च अदालत पाटनबाट र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी तरिकाले असुलेको रकम विदेश पठाएको कसुरमा अर्यालविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । गत साता नै पुर्जी जारी भए पनि उनीहरू फरार छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक जना उच्च अधिकृतले दुवैको खोजी तीव्र पारिएको बताए । उनले भने– ‘उहाँहरु भेटिनुभएको छैन, खोजी हुँदैछ ।’
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बानियाँ बैङ्किङ कसुरको आरोपमा मुछिएका हुन् । बानियाँ सञ्चालक रहेको ‘बानियाँ निर्माण सेवा प्रालि’, ‘बानियाँ सप्लायर्स प्रालि’ र ‘भूगर्भ सिमेन्ट कम्पनी’ का नाममा प्रभु बैङ्कबाट ३४ करोड रुपैयाँ ऋण लिइएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त रकम व्यावसायिक प्रयोजनमा खर्च नगरी सेयर बजार र अन्य व्यक्तिगत खातामा अपचलन गरिएको पाइएको छ । बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ ले कर्जाको दुरुपयोगलाई फौजदारी अपराध मानेको छ ।
यस प्रकरणमा उनका छोरा दीक्षान्त बानियाँलाई सीआईबीले कात्तिक १६ गते नै पक्राउ गरेको थियो । छोरामाथि भइरहेको अनुसन्धानले पूर्व मुख्यमन्त्री बानियाँसम्मको कनेक्सन देखाएपछि उनी अहिले फरार छन् ।
पूर्व मुख्यसचिव एकनारायण अर्याल आफूविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै भारततर्फ लागेको प्रहरी अधिकतहरु बताउँछन् । सीआईबीका एक जना अधिकृतले भने– ‘उहाँ भारत पुगेको सूचना पाएका छौँ ।’ सीआईबीले उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय गरिरहेको छ ।
मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्याल संलग्न देखिएको प्रहरीले दाबी गरेको छ । मङ्सिर २ मा पूर्वमन्त्री सहित ६ जना पक्राउ परेसँगै मलेसिया ठगी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो बनेको हो । पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा यातायात विभागका महानिर्देशक राजीव पोखरेल र पूर्वसचिव बिनोद केसी पक्राउ परेसँगै अर्याल पनि अनुसन्धानमा तानिएका हुन् ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी तरिकाले असुल गरिएको रकम मलेसिया पठाउन ४ पटक मन्त्रीस्तरीय निर्णय भएको थियो । सो निर्णय हुँदा पूर्व मुख्यसचिव अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए । मेडिकल स्क्रिनिङको नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर असुल गरेको १ अर्ब ६९ करोड २ लाख २४ हजार रकम मलेसिया पठाउन पूर्वमुख्य सचिव अर्याल समेतको संलग्नतामा अनुमति दिइएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ती निर्णय तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको पालामा भएको थियो । स्वास्थ्य परीक्षण गर्न काठमाडौँका ३६ वटा मेडिकललाई तोकिएको थियो ।


