शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्रीको भारत भ्रमण २५ घण्टा ३५ मिनेटको हुने कार्यतालिका तयार

धारणा न्यूज by धारणा न्यूज
१९ मिनेट अगाडि
Reading Time: 1 min read
0
छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भारत भ्रमण २५ घण्टा ३५ मिनेटको हुने कार्यतालिका तयार भएको छ । छोटो भ्रमणमा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग व्यापार, पारवहन, लगानी, ऊर्जा र पूर्वाधार विकासलाई केन्द्रमा राखेर एक घण्टा २५ मिनेट वार्ता गर्नेछन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो सवा ३ बजेदेखि सोमबार अपराह्न ४:५० सम्म नयाँदिल्ली रहने कार्यतालिका छ ।

प्रधानमन्त्री शाहको राजकीय भ्रमण नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेका हुन् । परराष्ट्रसचिव अमृतबहादुर राईले भ्रमण घोषणा गरेलगत्तै मन्त्रालयले प्रेस नोट सार्वजनिक गरेको छ भने त्यसलगत्तै भारतीय विदेश मन्त्रालयले शुक्रबार भ्रमणको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्रीहरू दिल्लीबाहिर जाने विगतका प्रचलन यसपटक तोडिँदै छ । प्रधानमन्त्रीको अहिलेसम्मकै छोटो बसाइ हुनेछ ।

प्रधानमन्त्री शाहलाई गत चैतमै भारतीय समकक्षी मोदीले निमन्त्रणा दिएका थिए । शाह प्रधानमन्त्री भएको आठ महिनापछि भारत भ्रमण हुन लागेको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क भ्रमणमा गएका थिए । यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो ।

यस्तो छ २५ घण्टा ३५ मिनेट कार्यतालिका
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट शाह ताजमहल होटेल जानेछन् । सोही होटेलमा साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आइतबार उनको अन्य कुनै कार्यक्रम छैन । विगतमा दिल्ली जाँदा नेपाली राजदूतावासले प्रधानमन्त्रीको स्वागत समारोह आयोजना गर्दै आएकोमा यसपटक त्यस्तो कार्यक्रम राखिएको छैन । प्रधानमन्त्रीको चाहनाअनुसार कार्यक्रम नराखिएको नेपाली राजदूतावास स्रोतले बतायो ।

दुई प्रधानमन्त्रीबिच एक घण्टा २५ मिनेट वार्ता 
प्रधानमन्त्री शाहको मुख्य कार्यक्रम सोमबार हुनेछ । सोमबार बिहान १० बजे उनलाई राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा स्वागत गर्नेछिन् । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनेछन् । भारतीय प्रधानमन्त्री मोदीसँग उनको पहिलो भौतिक भेटवार्ता राष्ट्रपति भवनमै हुनेछ ।

भारतीय सेनाबाट गार्ड अफ अनर लिएपछि प्रधानमन्त्री शाह बिहान १०:४० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर दीप प्रज्वलन गर्नेछन् । राजघाटबाट उनी हैदराबाद हाउस पुगेर समकक्षी मोदीसँग औपचारिक वार्ता गर्नेछन् ।

दुई प्रधानमन्त्रीबिचको औपचारिक वार्ता बिहान ११ बजेदेखि १२:२५ सम्म हुनेछ । सुरुमा प्रधानमन्त्रीद्वय शाह र मोदीबिच सानो समूहमा वार्ता हुनेछ भने त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तामा नेपाल र भारतका कम्तीमा १५ जना उच्च अधिकारी सहभागी हुनेछ ।

औपचारिक वार्तापछि १२:२५ मा भारतीय सहयोगमा बनेका र सम्पन्न आयोजनाको संयुक्त उद्घाटन र निर्माण सुरु हुन लागेका परियोजनाको संयुक्त शिलान्यास हुनेछ । सहकार्यका क्षेत्रहरूमा समझदारीपत्रमा हस्ताक्षर भएर आदनप्रदानसमेत हुनेछ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको औपचारिक दिवाभोजमा प्रधानमन्त्री शाह र प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

औपचारिक भेटवार्ता र दिवाभोजपछि प्रधानमन्त्री शाहले सोमबार सवा ३ बजे भारतीय राष्ट्रपति मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यहाँबाट उनी सिधै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् र ४:५० बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनेछन् ।

औपचारिक वार्ताको कार्यसूची र एजेन्डा 
परराष्ट्रसचिव अमृतबहादुर राईले दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास हुने जानकारी दिएका छन् । उनले शुक्रबार भने, ‘नेपालका लागि भारत ठुलो र महत्वपूर्ण विकास साझेदार हो । दुवै देशका नेतृत्वबिच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।’ उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपत् व्यवस्थापन र मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयू)समेत आदानप्रदान हुनेछ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोमबार दुई प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नेछन् । ‘साथै पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान हुनेछ,’ भारतीय पक्षले भनेको छ । विशेषगरी व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत र भौतिक तथा डिजिटल कनेक्टिभिटी (सम्पर्क सञ्जाल)लगायत विषयमा छलफल हुनेछ । दुई देशबिच स्टार्टअप, प्रविधि तथा नवप्रवर्तन (इनोभेसन) र खेलकुदजस्ता नयाँ क्षेत्रमा सहकार्य विस्तारबारे पनि छलफल हुने भारतीय विज्ञप्तिमा उल्लेख छ । भारतले आफ्नो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली अधिकारीहरूका अनुसार सडक, रेल, हवाई कनेक्टिभिटी, पेट्रोलियम पाइपलाइन, एकीकृत जाँच चौकी, सूचना प्रविधि, स्टार्टअप, जलविद्युत् तथा ऊर्जा, स्वास्थ्य, शिक्षा, सुशासन र विकास सहायताका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता हुनेछन् । मूलतः आर्थिक साझेदारी र कनेक्टिभिटी (हवाई, सडक तथा डिजिटल)मा नेपालको जोड छ । यसबाहेक नेपालमा भारतीय लगानी, द्विपक्षीय व्यापार समेत छलफल र सहकार्यको एजेन्डामा छन् ।

दुई प्रधानमन्त्रीले सोमबार जनकपुर–अयोध्या रेलसेवा, भैरहवा–सुनौली एकीकृत जाँच चौकी, दार्चुलामा महाकाली पुल र काभ्रेमा निर्मित नेपाल प्रहरी एकेडेमीको संयुक्त उद्घाटन गर्नेछन् । त्यसैगरी, दोधारा चाँदनी एकीकृत जाँच चौकी, अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन परियोजना र सिलिगुडी–चारआली परियोजनाको भर्चुअल शिलान्यास हुनेछ ।

भ्रमणमा तल्लो अरुण जलविद्युत् परियोजना, बुटवल–पोखरा फास्ट ट्र्याक निर्माणसम्बन्धी समझदारी आदानप्रदान गर्ने तय भएको एक उच्च कूटनीतिक अधिकारीले बताए । यसैगरी, भैरहवा विमानस्थलका लागि भारतले एयर स्पेसबाट नेपालमा हवाई प्रवेश अनुमति दिने विषयमा पनि लगभग सहमति भएको ती अधिकारीले बताए । ‘भारतबाट एयर रुट अनुमति पाउने पक्कापक्की भयो, भ्रमणको यो महत्वपूर्ण उपलब्धि हुनेछ,’ ती अधिकारीले भने ।

नेपाल–भारत वाणिज्य सन्धि पुनरवलोकन, एआई तथा सूचना प्रविधिमा सहकार्य, नेपाल–भारत सीमापार ग्यास पाइपलाइन, क्रिकेट रंगशाला तथा नेपाली खेलाडीलाई तालिम, भारतीय शैक्षिक संस्थानहरू आइआइएम तथा आइआइटीका नेपालमा शाखा सञ्चालन, विपत्पूर्वको तयारीमा सहकार्य, अप्टिकल फाइबरको गुणस्तर वृद्धि, दुई देशका राजधानीबाहेकका सहरबिच हवाई कनेक्टिभिटी विस्तार तथा थप पुल र सडक निर्माणमा भारतीय सहयोगलगायत एजेन्डामा पनि सहकार्यको घोषणा हुने भएको छ ।

सीमा विवादबारे पुरानै प्रतिबद्धता दोहोरिने
भ्रमणमा दुई देशबिच लामो समयदेखि थाती रहेको सुस्ता तथा कालापानी–लिम्पियाधुरा सीमा विवादबारे पुरानै प्रतिबद्धता दोहोर्याउने तयारी छ । परराष्ट्रका एक अधिकारीले भने, ‘तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा परराष्ट्रसचिवस्तरीय संयन्त्रलाई सीमा विवादबारे छलफल गर्न निर्देशन दिइएको थियो । अहिले पनि परराष्ट्रसचिवस्तरीय संयन्त्रलाई सक्रिय बनाउने र स्थापित कूटनीतिक संयन्त्रमा सीमा (बाउन्ड्री)लगायतका विषयमा छलफल गर्ने प्रतिबद्धता दोहोर्याइनेछ । सीमाको विषयमा अलग्गै छलफल हुँदैन ।’ यद्यपि, यसबारे परराष्ट्रसचिव अमृतबहादुर राईले शुक्रबारको पत्रकार सम्मेलनमा केही बोलेनन् भने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । परराष्ट्र ती अधिकारीले भने, ‘नेपाल–भारत संयुक्त वक्तव्य जारी हुँदा यो विषय पुनः प्रतिबद्धताका रूपमा आउनेछ ।’

३४ सदस्यीय सरकारी भ्रमण टोली
परराष्ट्रसचिव अमृतबहादुर राईका अनुसार भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाहसहित ३४ जना रहनेछन् । दिल्लीस्थित नेपाली राजदूतावासबाट भ्रमण टोलीमा राजदूत डा. निश्चलनाथ पाण्डे र नियोग उपप्रमुख डा. सुरेन्द्र थापा थपिनेछन् । भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली रहनेछ । आइतबार नेपाली र भारतीय उद्योगी व्यवसायीको नेपाल–भारत बिजनेस फोरम आयोजना हुनेछ जहाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभापति लामिछानेलाई प्रधानमन्त्रीको ब्रिफिङ, लामिछानेले दिए उपलब्धिमूलक र सफल भ्रमणको शुभकामना 
प्रधानमन्त्री शाहले रास्वपा सभापति रवि लामिछानेलाई भारत भ्रमणको कार्यसूची, कार्यतालिकालगायत सबै विषयमा शुक्रबार जानकारी दिएका छन्। प्रधानमन्त्री कार्यालयमा अपराह्न भएको भेटवार्तामा सभापति लामिछानेले राष्ट्रिय हितलाई केन्द्रमा राख्न र दुई देशबिच विश्वासको सम्बन्ध अभिवृद्धिमा जोड दिन सुझाव दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए । ‘प्रधानमन्त्रीले भारत भ्रमणका सन्दर्भमा भएका सबै तयारी र कार्यसूचीका सम्बन्धमा सभापतिज्यूलाई विस्तृतमा ब्रिफिङ गर्नुभयो । राष्ट्रिय हितलाई केन्द्रमा राख्दै भारतसँग विश्वासको सम्बन्ध थप मजबुत बनाउन सभापतिज्यूले सुझाव दिनुभएको छ,’ भेटवार्तापछि प्रवक्ता खरेलले नयाँ पत्रिकासँग भने ।

भारतसँग सरकार, पार्टी र जनताबिचको सम्बन्ध थप सुदृढ हुनुपर्ने सभापति लामिछानेको सुझाव थियो । खरेलका अनुसार भ्रमण उपलब्धिमूलक र सफल होस् भन्ने सभापति लामिछानेको शुभकामना थियो । प्रधानमन्त्रीले आफू पनि त्यही दिशामा अघि बढिरहेको जवाफ दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रहरीकाे ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

प्रहरीकाे ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

२४ मिनेट अगाडि
एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोटेकोशी बाढीपीडितलाई नगद राहत

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

रास्वपा, कांग्रेस र एमालेका सभापतिहरुबीच पहिलोपटक सँगै छलफलमा जुट्दै

कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक