काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख महिनामा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ।
राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलका क्रममा आयोगले दुई चरणमा निर्वाचन सम्पन्न गर्ने प्रस्ताव गरेको हो।
निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरू सहभागी भएका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा सहभागी हुन आयोग पुगेका थिए। तर उनले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आफू बाहिरिएका थिए।
यसअघि २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने सोही वर्ष मंसिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो।
आयोगको प्रस्तावअनुसार निर्वाचनको मिति र कार्यतालिका तय भए आगामी वर्ष वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन हुनेछ।


