काठमाडाैं । नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव सकिएसँगै मौसममा क्रमिक रूपमा सुधार आउन थालेको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार अबका दिनमा देशभरको मौसम थप सफा र घमाइलो हुँदै जानेछ।
मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखि मौसममा उल्लेखनीय सुधार आएको जानकारी दिए । विगत २४ घण्टाको अवस्था हेर्दा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक-दुई स्थानमा छिटपुट वर्षाबाहेक अन्यत्र ठूलो पानी परेको छैन।
आइतबार बिहान तराईका भूभाग तथा काठमाडौं र पोखरालगायतका उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागे पनि त्यो विस्तारै हट्दै गएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा देखिएको हुस्सु पनि छिट्टै खुल्ने विभागले जनाएको छ।
आइतबार दिउँसो पहाडी र हिमाली भूभागमा आंशिक बदली रहे पनि समग्रमा मौसम सफा रहनेछ। हिमाली र पहाडी भेगका करिब १० प्रतिशत (धेरै कम) स्थानमा मात्रै सामान्य छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए। रातिको समयमा पूर्वी भूभागमा मौसम अझै सफा हुँदै जानेछ भने पश्चिमी भूभागका थोरै स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्नेछ। अन्य भूभागमा भने मौसम राम्रो रहनेछ।
सोमबारको मौसम पनि सामान्यतया सफा नै रहने पूर्वानुमान गरिएको छ। सोमबार बिहान तराई, उपत्यका र खोँचहरूमा हुस्सु लागे पनि त्यो आइतबारको तुलनामा कम हुने र छिट्टै खुल्नेछ। दिउँसोपख हिमाली, पहाडी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहे पनि साँझदेखि मौसममा थप सुधार आउने र घमाइलो हुँदै जाने विभागले जनाएको छ।
चक्रवातको प्रभाव हटेसँगै आगामी पाँच दिनसम्मका लागि मौसम पूर्वानुमान महाशाखाले ‘हरियो रङ’ को चेतावनी जारी गरेको छ। यसको अर्थ अबको केही दिन मौसमका कारण कुनै पनि नकारात्मक प्रभाव पर्ने जोखिम छैन।


