काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव बिहीबारदेखि नेपालमा प्रभाव परेकाे छ । यसको प्रभावले शुक्रबार देशभर अधिकांश स्थानमा बादल लाग्ने र धेरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा बाँकी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको समेत आंशिक प्रभाव छ। पछिल्लो २४ घण्टामा कोशीदेखि लुम्बिनीसम्म वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक विवरणअनुसार रोशी क्षेत्रमा ३३ मिलिमिटर वर्षा र्भको छ। खोपासीमा २७, खोकनामा २४.२, कुर्लेघाट केन्द्रमा २७ मिलिमिटर वर्षा भएको छ। अहिले बिहानबाट लुम्बिनी पश्चिम पनि पानी पर्न थालेको छ।
वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र यात्रा गर्दा मौसमको अवस्था ख्याल गर्न आग्रह गरिएको छ।


