काठमाडौं । कतारले आफ्नो सैन्य क्षमता सुदृढ गर्ने उद्देश्यले चाँडै नै एउटा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा गर्ने तयारी गरेको छ। कतारका उपप्रधानमन्त्री तथा रक्षा राज्यमन्त्री शेख साउद बिन अब्दुलरहमान अलथानीले दोहामा आयोजित ग्लोबल सेक्युरिटी फोरममा यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार, कतारले भर्खरै आफ्नो रक्षा क्षमताको समीक्षा गर्दै वायु रक्षा, एन्टी-ड्रोन प्रविधि, साइबर सुरक्षा र जल सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ। उपप्रधानमन्त्री अलथानीले खाडी सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रहरूबीचको सहकार्यमा जोड दिँदै अमेरिकासँगको साझेदारीले खाडी क्षेत्रको रक्षा क्षमता बलियो बनाएको जनाए।
दशकौँको सैन्य लगानी र विज्ञता आदानप्रदानका कारण इरान युद्धका क्रममा लक्षित ९० प्रतिशतभन्दा बढी आक्रमणहरू विफल पार्न सफल भएको उनले स्पष्ट पारे।
ऊर्जा सङ्कटको चरम बिन्दु आउन बाँकी
खाडी क्षेत्रको ऊर्जा आपूर्तिमा आएको अवरोधको आर्थिक असर अझै उच्च बिन्दुमा पुग्न बाँकी रहेको चेतावनी उपप्रधानमन्त्री अलथानीले दिएका छन्।
आगामी दिन र महिनाहरूमा यसको थप गम्भीर असर देखिन सक्ने भन्दै उनले क्षेत्रीय द्वन्द्वको विस्तार, ऊर्जा आपूर्तिमा हुने अवरोध र सार्वभौमसत्तामाथिको खतरालाई यस क्षेत्रका मुख्य चुनौती मानेका छन्।
गत मार्च महिनामा इरानी आक्रमणबाट कतारको प्रमुख एलएनजी उत्पादन केन्द्र रास लाफान औद्योगिक कम्प्लेक्समा क्षति पुगेको थियो। यस्तो अस्थिरताले पूर्वदेखि पश्चिमसम्मको विश्वव्यापी आपूर्ति शृङ्खलाका साथै युरोप र अमेरिकामा रहेको खाडी क्षेत्रको लगानीलाई समेत असर गर्न सक्ने उनले जनाए।
आक्रमणका बाबजुद इरानसँग सञ्चार जारी
आफ्नो भूमिमा आक्रमण हुँदा र क्षेत्रीय द्वन्द्वमा असहमति रहँदा पनि कतारले इरानसँगको सञ्चार च्यानल खुला राखेको उपप्रधानमन्त्री अलथानीले जनाए।
रास लाफान ग्यास केन्द्रमा भएको आक्रमणबाट दोहा आश्चर्यचकित भए पनि त्यसयता तेहरानसँग निरन्तर छलफल भइरहेको र दुवै पक्ष एउटा साझा बुझाइमा पुगेको उनको भनाइ छ।
अलजजिरा


