कालीकोट । कालीकोटको मुल्फा बजारस्थित पिपलडाँडामा २५ केभीए क्षमताको ट्रान्सफर्मर जलेपछि तिला फिडर बन्द भएको छ। तिला फिडर बन्द हुँदा कालीकोटसगै जुम्ला र मुगु जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।
हिजो राति करिब १२ः३० बजे मुल्फा बजार पिपलडाँडामा रहेको ट्रान्सफर्मर जलेपछि अहिले उक्त स्थानमा ट्रान्सफर्मर प्रतिस्थापनको काम भइरहेको छ।
ट्रान्सफर्मर बदल्ने कार्यका लागि केही समय तिला फिडरको विद्युत् सेवा बन्द रहने जानकारी गराइएको छ। कालीकोट बितरण केन्द्रका फोरम्यान जयप्रसाद पाण्डेले ट्रान्सफर्मर प्रतिस्थापनको काम सम्पन्न भएपछि विद्युत् सेवा पुनः सञ्चालनमा आउने बताउनुभयो ।
ट्रान्सफर्मरमा आएको समस्याका कारण जुम्ला र मुगु जिल्लाका विद्युत् उपभोक्ता प्रभावित भएका छन्। गएराति देखिको बन्द बिधुत सेवा सुचारूका लागि अहिले मर्मतको काम भइरहेको छ।


