काठमाडौं । आज दसैंको सातौं दिन फूलपाती भित्र्याइँदै छ । यसै दिनदेखि बिदा पनि हुने भएकोले घर फिर्ती हुनेहरुको लर्को लागेको छ ।
धेरैको उद्देश्य फूलपातीको दिनसम्म घर पुगिसक्ने हुन्छ । सोही उद्देश्यका साथ कोही अछिल्लो दिन त कोही फूलपातीको बिहानै काठमाडौं उपत्यका छाडेका छन् ।
खासगरी काठमाडौं उपत्यका आसपासका जिल्लाका नागरिक गत रातिदेखि बिहान घर फर्किन सडक र बसपार्कमा लाइनबद्ध छन् ।
नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु र बल्खुलगायत क्षेत्रमा रातिदेखि बिहानसम्म घर जाने यात्रुको चहलपहल बढेको छ ।
बालबालिका र झिटीगुन्टासहित घर जानेहरूमा दशैंको उल्लास देखिन्छ । कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर गन्तव्यतर्फ लागेका छन् । बसपार्कमा टिकट काट्ने, गाडी चढ्ने र आफन्तसँग बिदाइ हुनेहरूको भीड छ ।
दशैंको विशेष रौनक सुरु हुने फूलपातीका दिन घर पुग्ने हतारो यात्रुको अनुहारमा देखिन्छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन उपत्यकाबाट बाहिरिरहेका छन् ।
दशैं नजिकिएसँगै बढेको यात्रुको चापले काठमाडौं बाहिरिने नाका व्यस्त बनाएको छ । लामो यात्राको थकान र सवारीसाधनको भीडबीच पनि परिवारसँग चाडपर्व मनाउन घर फर्किनेहरूको उत्साह भने उत्तिकै छ ।


