काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहित आइतबार आकस्मिक बाढी आयो । बाढीले नदी किनारका बस्ती, पुल तथा हाइड्रोपावरमा क्षति गरेको छ ।
बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुग्नुका साथै ५ जना बेपत्ता भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको छ।
प्रहरीका अनुसार बाढीका कारण हालसम्म २६ वटा घर र ९ वटा गोठ पूर्ण रूपमा क्षति भएका छन्। यस्तै, तीन वटा हाइड्रोपावर आयोजनामा क्षति पुग्नुका साथै यातायात र आवतजावत ठप्प हुने गरी २ वटा पक्की पुल र २ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ।


