काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ ।
विभागले कतिपय रोजगारदाताबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आउने गरेको भन्दै अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको हो ।
यदि रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराए सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन अनुरोध गरेको छ ।
विभागका प्रवक्ता मणिनाथ गोपले कतिपय रोजगारदाता तथा प्रतिष्ठानबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आइरहेको बताए । त्यस्ता प्रतिष्ठानलाई अनिवार्य उपलब्ध गराउन भनिएको र उपलब्ध नगराउने माथि श्रम ऐन अनुसार कारबाही हुने प्रष्ट पारे ।


