काठमाडाैं । ओचुका, टोक्योको कास्थमण्डप नेपाली रेस्टुरेन्टमा बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक कार्यक्रमका साथै रसुवा बाढीपीडितहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आइतवार सम्पन्न भएको छ।
प्राकृतिक विपत्तिको यो कठिन समयमा प्रभावित परिवारहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले जापान बस्ने नेपाली तथा जापानीहरू उक्त विशेष सांगीतिक कार्यक्रममा सहभागी भएका छन्।
मंडला ग्रुप जापानले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भोटेकोशी बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक च्यारिटी शोको आयोजना गरेको थियो। उक्त कार्यक्रममा एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने, जापानका वरिष्ठ पत्रकार तिलक मल्ल, नेवा: जागरण मञ्च जापानका अध्यक्ष कृष्ण बदन जोशी, वर्ल्ड नेवा: अर्गानाईजेशन जापान, ग्लोबल नेपा नेटवर्क तथा सेवा अभियानका साथीहरू एवं विभिन्न संघसंस्थाका समाजसेवी नेपाली तथा जापानीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
उक्त कार्यक्रमबाट जम्मा ३ लाख २ हजार जापानी येन संकलन भएको थियो । संकलित रकम सम्पूर्ण रकम भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा सहयोगमा खर्च गरिने भएको छ।
विपद्को समयमा सहयोगका लागि प्रत्यक्ष रूपमा केही राहत तथा सहयोग गर्ने उद्देश्यले उक्त च्यारिटी शोको आयोजना गरेको कुरा
मंडला ग्रुपका निर्देशक सुनिल कुमार शाक्यले बताउनुभएको छ।
मंडला ग्रुपका निर्देशक सुनिल कुमार शाक्यले बताउनुभएको छ।
नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न व्यक्ति, संस्था तथा राष्ट्रले सहयोग जुटाइरहेका बेला कारेन शाक्यको च्यारिटी शोले राहत अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल र नेपालीलाई औधि मन पराउने र नेपाली संस्कृतिलाई अत्यन्त माया गर्ने २२ वर्षीय कारेन शाक्य १९ वर्षको उमेरदेखि नेपाल भाषाको गीत गाएर सामाजिक कार्य गर्दै संगीत क्षेत्रमा लागेकी हुन्। भविष्यमा दीन-दुखीको सहयोगका लागि लाग्ने उनको सपना रहेको कुरा उनले बताएकी छिन्।
उनले गाएका गीतहरूमध्ये प्रा. सुवर्ण शाक्यज्यूद्वारा रचित ‘समाया संया झा’ र स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठज्यूद्वारा रचित ‘चुलू बुलु चंचल’ गीत अत्यन्त चर्चित रहेका छन्। उक्त गीतहरूको संगीत वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यज्यूले गर्नुभएको थियो।
गायिका कारेन शाक्यको बुबा नेपाली हुनुहुन्छ भने आमा जापानी हुनुहुन्छ ।


