काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लगानीको ठूलो हिस्सा ओगटेका निजी क्षेत्रका चार व्यवसायीसँग दुई घण्टा छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार चन्द्र ढकाल, विनोद चौधरी, पवन गोल्यान र उमेश श्रेष्ठसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।
व्यवसायी चन्द्र ढकालले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। ‘उहाँले आधा घण्टा समय दिनुभएको थियो। तर दुई घण्टा छलफल भयो। खासगरी निजी क्षेत्रका मुद्दा, लगानी प्रबर्द्धनको कुराहरू, स्वदेशी लगानी एवम् बाह्य लगानीबाट आउने लगानीलाई प्रबर्द्धन गर्ने कुराहरूबारे छलफल भयो,’ उनले भने ।
प्रधानमन्त्रीले नेपालमा लगानीको सम्भावना, अवसर र त्यसलाई सहजीकरण गर्न सरकारको तर्फबाट के गर्नुपर्छ भनेर सुझाव मागेको ढकालले जनाए ।
‘नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने, धेरैभन्दा धेरै पूर्वाधार बनाउन सरकारको तर्फबाट के कुरा मिलाइदियो भने सहज हिसाबले लगानी हुन्छ र रोजगारी सिर्जना हुन्छ, पूर्वाधार बन्छ, कर संकलन हुन्छ, तपाईंहरूको सुझाव के छ भन्ने प्रधानमन्त्रीको कुरा थियो। हामी क्षेत्रगत रूपमा उत्पादन, निर्यात, जलविद्युत, पर्यटन, निजी क्षेत्रले प्रबर्द्धन गर्दै आएका ठाउँहरूबारे कुरा गर्यौं’ उनले भने।
यस्तै छिटोभन्दा छिटो केरूङ नाका खुलाउनेबारे पनि प्रधानमन्त्रीसँग कुराकानी भएको उनले जानकारी दिए ।


