महेश्वर दाहाल
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विरोध हुनु अस्वाभाविक होइन । सरकारको कामको आलोचना हुनुपर्छ । प्रधानमन्त्रीले गरेका निर्णयमाथि प्रश्न उठाउनुपर्छ । गलत काम भएको छ भने विरोध गर्नुपर्छ ।
तर, अहिले जुन स्तरमा बालेनमाथि आरोपहरू लगाइएका छन्, त्यसले अर्को प्रश्न जन्माएको छ, आखिर बालेनसँग यति धेरै रिस किन ? उनीमाथि कसैले साम्राज्यवादी दलाल भनेका छन् । कसैले राष्ट्रविरोधी भनेका छन् । कसैले देशविरोधी गतिविधि गरेको आरोप लगाएका छन् । अब एकछिन भावनालाई छाडेर तथ्य हेरौँ ।
बालेनले एमसीसी सम्झौता गरेका हुन् ? होइन । एसपीपीका लागि पत्र लेखेका हुन् ? होइन । महाकाली, कर्णाली वा गण्डकीजस्ता ठूला र देशलाई घाटा हुने सम्झौता गरेका हुन् ? होइन । सरकारी कलकारखाना बेचेर निजीकरण गरेका हुन् ? होइन । ओम्नी, वाइडबडी, गिरीबन्धु वा एनसेलजस्ता चर्चित प्रकरणमा राज्यसत्ता प्रयोग गरेर भ्रष्टाचार गरेको प्रमाण उनीमाथि स्थापित भएको छ । त्यो पनि होइन । सहकारीको रकम अपचलन गरेका छन् ? त्यो छैन । त्यसो भए प्रश्न उठ्छ, विरोधको वास्तविक कारण के हो ? यो प्रश्नको उत्तर खोज्न हामीले बालेनबाट होइन, पुरानो राजनीतिको इतिहासबाट सुरु गर्नुपर्छ ।
२०७४ सालमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र चुनावी मोर्चा बनाएर निर्वाचनमा गए । एमालेले एक सय २१ सिट जित्यो । माओवादी केन्द्रले ५३ सिट जित्यो । दुई दलको संख्या जोड्दा १७४ सिट पुग्यो । नेपाली कांग्रेस ६३ सिटमा सीमित भयो ।
त्यसपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भयो । नेपाल कम्युनिस्ट पार्टी बन्यो । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै पार्टीका दुई अध्यक्ष बने । त्यतिबेला भनियो, अब देशमा स्थिरता आउँछ । राजनीतिक अस्थिरता अन्त्य हुन्छ । विकास र समृद्धिको नयाँ युग सुरु हुन्छ । तर, केही वर्षमै त्यो एकता शक्ति संघर्षमा बदलियो ।
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे । त्यसपछि प्रचण्डसहितको समूह सडकमा गयो । नेपाली कांग्रेसलगायत दल पनि आन्दोलनमा उत्रिए । ओलीको कदमलाई ‘प्रतिगमन’ भनियो । संविधानमाथि प्रहार भएको भनियो । लोकतन्त्र खतरामा परेको भनियो । अन्ततः सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्यो । त्यो वास्तवमै सिद्धान्तको लडाइँ थियो भने त्यसपछि नेपाली राजनीतिक घटनाक्रम र तथ्यले के भन्यो ?
२०७९ सालको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी सहकार्य भयो । कांग्रेसले ८९ सिट जित्यो । एमालेले ७८ र माओवादी केन्द्रले ३२ सिट जित्यो । संख्याका हिसाबले अघिल्लो चुनावमा भन्दा माओवादी कमजोर भयो । गठबन्धनबाट कांग्रेसलाई लाभ भयो । तर सरकार बनाउन माओवादीको ३२ सिट निर्णायक भयो । कांग्रेस र माओवादीबीच प्रधानमन्त्रीको विषयमा कुरा मिलेन । अनि प्रचण्डले केपीसँग मिलेर सरकार बनाए ।
अर्थात्, केही समयअघि ओलीको कदमलाई ‘प्रतिगमन’ भन्दै आन्दोलन गरेका प्रचण्ड फेरि ओलीकै समर्थनमा प्रधानमन्त्री बने । त्यसमा बहस, आत्मालोचना केही गरिएन । त्यसपछि फेरि समीकरण फेरियो । कांग्रेस आयो । फेरि एमाले आयो । अन्ततः एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्य भयो । अनि जनताले प्रश्न नगर्ने ?
हिजो प्रतिगमनकारी भनिएको नेता आज सत्ता साझेदार कसरी बन्यो ? हिजो लोकतन्त्रको रक्षक भनिएको शक्ति आज उसैसँग सरकार बनाउन कसरी तयार भयो ? त्यसैले परम्परागत राजनीतिक पार्टीका शीर्ष नेताहरूबारे एउटा धारणा बलियो भयो, ‘सिद्धान्त, विचार भाँडमा जाओस्, मिलिजुली जाने, बाँडीचुँडी खाने ।’
र, यही राजनीतिक संस्कारबाट असन्तुष्ट भएका नयाँ पुस्ताले विकल्प खोजिरहेकै थियो । २०७९ सालमा काठमाडौं महानगरपालिकामा मेयरमा कांग्रेस र एमालेका स्थापित उम्मेदवारलाई हराएर उदाएका बालेनलाई विकल्प देख्यो । रास्वपालाई पत्यायो ।
मानिसहरूले भन्न थाले, पार्टी हेरेर होइन, एजेन्डा र काम हेरेर भोट दिनुपर्छ । नेताको भाषण होइन, परिणाम हेर्नुपर्छ । बालेनले प्रतिनिधिसभाको निर्वाचनमा झापामा केपीलाई पराजित गरे । अब बालेनको सरकार बनेपछि पुराना राजनीतिक शक्तिहरूबाट ठूल–ठूला आरोप आउन थाले ।
तर, फेरि प्रश्न गरौँ, बालेनको वास्तविक गल्ती के हो ? कालो चस्मा लगाउनु ? सामाजिक सञ्जालमा आफ्नै शैलीमा बोल्नु ? धादिङ ब्यारेक पुगेर बन्दुक चलाउन सिक्नु ? गाँजा खाएको आरोप लाग्नु ? दुईदिने बिदा दिनु ?
यी विषयमा प्रश्न गर्न पाइन्छ । बालेनको निर्णय गलत छ भने आलोचना गर्न पाइन्छ । सरकारको नीति गलत छ भने विरोध गर्न पाइन्छ । प्रधानमन्त्री संसद्प्रति जवाफदेही छैनन् भने प्रश्न गर्न पाइन्छ । तर, यिनै विषयलाई जोडेर कसैलाई ‘साम्राज्यवादी’, ‘राष्ट्रविरोधी’ वा ‘देशद्रोही’ घोषणा गर्ने हो भने प्रमाण चाहिँदैन ?
बालेनको उदय बालेनका कारणले मात्र होइन । बालेनलाई जन्माउने राजनीतिक परिस्थिति पुराना दलका शीर्ष नेताहरूले आफैँ बनाएका हुन् । लामो राजनीतिक अस्थिरता । पटक–पटकको फोहोरी सत्ता समीकरण । एउटा चुनावमा एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन । हिजो शत्रु भनिएको दलसँग कुनै परिवर्तन नभई आज सत्ता साझेदारी । भ्रष्टाचारमा सेटिङ, निरन्तर विवाद । नेताका बाचा र सरकारको कामबीचको विरोधाभास । यी सबैले जनतामा निराशा पैदा गरे ।
र, जब पुरानो राजनीतिको विश्वास कमजोर भयो, नयाँ विकल्पका लागि ठाउँ बन्यो । त्यही ठाउँमा बालेन आएका हुन् । त्यसैले आज पुराना नेताहरूले बालेनलाई मात्र दोष दिएर पुग्दैन । उनीहरूले आफैँलाई एउटा प्रश्न सोध्नुपर्छ ।
बालेन किन जन्मिए ? किन काठमाडौंका जनताले स्थापित दललाई पन्छाएर एउटा स्वतन्त्र उम्मेदवार पहिला रोजे ? झापामा गएर पूर्वप्रधानमन्त्री केपीलाई हराए । किन देशैभरि रास्वपाको झन्डै दुई तिहाइ मत आयो ? किन नयाँ पुस्ताले पुराना दलमाथि प्रश्न गर्न थाल्यो ? किन मानिसहरू परम्परागत राजनीतिको विकल्प खोज्न थाले ?
यसको उत्तर बालेनको चस्मामा छैन । उनको सामाजिक सञ्जालको पोस्टमा छैन । उनको व्यक्तिगत शैलीमा पनि छैन । यसको उत्तर पुरानो राजनीतिको गलत प्रदर्शनमा छ ।
त्यसैले बालेन गलत छन् भने उनलाई तथ्यले पराजित गरौँ । उनको सरकार असफल छ भने तथ्यांक देखाऔँ । उनको विदेश नीति गलत छ भने प्रमाणसहित प्रश्न गरौँ । उनको निर्णय संविधानविरोधी छ भने संवैधानिक आधार देखाऔँ । तर गाली गरेर होइन । आरोप लगाएर होइन । चरित्रहत्या गरेर होइन ।
किनकि लोकतन्त्रमा सरकारको आलोचना गर्न पाइन्छ । प्रधानमन्त्रीको विरोध गर्न पाइन्छ । तर प्रमाणविनाको आरोपलाई सत्य बनाउने अधिकार कसैलाई छैन । यदि पुराना दलहरू बालेनभन्दा राम्रो विकल्प हुन् भने उनीहरूले बालेनलाई गाली गर्नुपर्दैन । राम्रो नीति ल्याउनुपर्छ । विश्वसनीय नेतृत्व देखाउनुपर्छ । किनकि बालेनलाई कमजोर गर्न सबैभन्दा बलियो हतियार गाली होइन, विश्वसनीय विकल्प हो । र, त्यसैले आजको सबैभन्दा ठूलो प्रश्न यही हो, पुराना शासकहरू बालेनसँग यति आक्रामक किन छन् ?
बालेनले देशलाई गलत दिशामा लगेका कारण ? कि बालेनको उदयले पुरानो राजनीतिको असफलताको ऐना उनीहरूलाई देखाइदिएका कारण ?
आर्थिक दैनिक


