प्योङयाङ। उत्तर कोरियाली नेता किम जोङ उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको जनाउनुभएको छ । दुई देशबिचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको उहाँले जनाउनुभएको हो ।
आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)का अनुसार, कोरियाली ‘मुक्ति दिवस’को ८१ औँ वार्षिकोत्सवका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पठाएको शुभकामना सन्देशको जवाफ दिँदै किमले शनिबार यस्तो धारणा व्यक्त गर्नुभएको हो । किमले पुटिनको नेतृत्वमा रुसी सेना र जनताले आफ्नो सार्वभौमिकता, सुरक्षा हित तथा क्षेत्रीय अखण्डताको रक्षा गर्दै शक्तिशाली रुस निर्माणको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले रुसी राष्ट्रपतिको कार्यकालमा थप सफलताको कामनासमेत गर्नुभयो । उत्तर कोरियाले सन् १९४५ अगस्त १५ मा जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्त १५ लाई ‘मुक्ति दिवस’का रूपमा मनाउँदै आएको छ । सिन्ह्वा


