काठमाडौं । महोत्तरी, गौशाला नगरपालिका-१ रामनगरस्थित सडकमा गौशालाबाट माईस्थानतर्फ जाँदै गरेको मधेश प्र. ०२-००१ ह ३४९४ नम्बरको ई-रिक्साको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया चन्द्र कला देवी ठाकुरको बुघबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ई-रिक्सा चालकको खोजी गरिरहेको छ ।
मोरङ, धनपालथान गाउँपालिका-७ कदमास्थित सडकमा कदमाबाट नोचातर्फ जाँदै गरेको को. ३३ प ८९५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया चुम्नी देवी मण्डलको मृत्यु भएको छ । बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अञ्चलपुरस्थित न्यूरो हस्पिटल अगाडि सडकमा बुटवलबाट भैरहवातर्फ आउँदै गरेको लु.१७ प ५९७२ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २६ वर्षीय तिन्कु थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


