आइत, साउन १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

फेसबुक: बधाई, शुभकामना र समवेदना!!!

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
Reading Time: 1 min read
0
फेसबुक: बधाई, शुभकामना र समवेदना!!!
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– खडग पाण्डे

कुनै समय थियो मानिसहरू ज्ञान लिन पुस्तक पढ्थे, समाचारका लागि रेडियो सुन्थे वा पत्रिका पढ्थे, आफन्त भेट्न घर पुग्थे, बहस गर्न चौतारीमा जम्मा हुन्थे र आफ्नो दुःख–सुख सुनाउने ठाउँ पँधेरो, गोठालो वा मेलापात हुन्थ्यो। अहिले यी सबै झन्झट समाप्त भएका छन्। किनभने मानव सभ्यताले एउटा महान् आविष्कार गरेको छ—फेसबुक।

फेसबुक केवल सामाजिक सञ्जाल होइन यो त आधुनिक मानव जीवनको अखण्ड विश्वविद्यालय, अदालत, संसद्, अस्पताल, मन्दिर, ज्योतिष कार्यालय, विवाह ब्युरो, युद्धभूमि र श्मशानघाटसमेत भएको छ।

पहिले घटनाहरू रहस्यमयी थिए। बिज्ञानको अनुपस्थिती थियो। अनुत्तरित प्रश्नहरू सबै ईस्वरका लीला मानिन्थे। त्यसैले ईस्वरकोहरूको जन्म भएको थियो। कुनै समय अग्निदेव थिए, कुनै बेला इन्द्र। अहिलेको युगमा एउटा नयाँ देवता जन्मिएको छ— ईमोजी। वाहन मोबाइल हुन्। प्रसाद “लभ” संकेत हो। आरती “सेयर गर्नुहोस्” हो र भक्तहरूको सबैभन्दा ठूलो तपस्या भनेको—”कृपया अन्तिमसम्म हेर्नुहोस्।” मानिसले पहिले भगवानलाई फूल चडाउद्थे, अहिले एल्गोरिदमलाई समय चढाउँछ।

पहिले बिहान उठेर मानिसले सूर्यलाई जल चढाउँथ्यो। अहिले आँखा खुल्नेबित्तिकै मोबाइलको स्क्रिनमा औँला चढाउँछ। सूर्य अस्ताए पनि नअस्ताए पनि केही फरक पर्दैन तर वाइफाइको सिग्नल अस्तायो भने जीवनमै ग्रहण लागेको जस्तो हुन्छ। पहिले अस्तित्वमै नभएको देवताका लागि पानी पोखिन्थ्यो, अहिले आफू उल्लु हुने एल्गोरिदममा समय पोखिन्छ।

धर्मका विषयमा त फेसबुक स्वर्गकै शाखा कार्यालय हो। यहाँ सबैले आफ्नै धर्मलाई प्रेम, सहिष्णुता र करुणाको प्रतीक भन्छन्। त्यसको प्रमाण दिन कमेन्टमा एकअर्कालाई गाली गर्छन्। स्वर्गको टिकट बाँड्ने र नरकको आरक्षण गर्ने अधिकार पनि धेरैले आफैँ लिएर बसेका जस्ता छन्। धर्म गर्न करुणा, सहयोग र सद्भाव चाहिँदैन, कसैको पोस्ट सेयर गरे पुग्छ। “यो पोस्ट देखेर पनि नदेखेको जस्तो गर्ने, सेयर नगरे दुर्भाग्य लाग्छ” भनेर श्रापसमेत दिन मिल्छ। त्यसपछि अनेक झुट र अफवाह वायुपंखी घोडाको गतिमा सत्यको पोशाक लगाएर गाउँ, सहर र महादेश पार गरिसकेका हुन्छन्। अफवाहलाई पासपोर्ट चाहिँदैन। फेसबुकले उसलाई विश्वपर्यटक बनाइदिएको छ।

फेसबुकले मानिसलाई निकै परोपकारी पनि बनाएको छ। कुनै दुर्घटना भयो भने पानी खुवाउने वा अस्पताल लैजाने होइन धेरैले मोबाइल निकालेर “लाइभ” सुरु गर्छन्। आखिर संसारले थाहा पाउनुपर्‍यो नि मानवता बचाउन आफू घटनास्थलमै उपस्थित थियो भनेर! कुनै ठाउँमा आगो लागे पनि भिडियो। बाढी आए पनि भिडियो। मान्छे लडे पनि भिडियो। कसैको जीवन बचाउनुभन्दा पहिले “कन्टेन्ट” बचाउनु अहिलेको महान् कर्तव्य बनेको छ।

फेसबुकले मित्रताको परिभाषा पनि फेरिदिएको छ। एक हजार साथी छन् तर बिरामी पर्दा एक पिन्ट रगत दिन आउने कोही छैन। पाँच हजार फलोअर छन् तर सँगै हिँड्दा खुट्टा मर्कियो भने आड दिने दुई जना भेटिँदैनन्। दुई लाख लाइक आएको पोस्ट छ तर मन भारी हुँदा खुलेर दुःख पोख्ने एउटा साथी भेट्न गाह्रो छ। यति हुँदाहुँदै पनि मानिसलाई लाग्छ—ऊ अत्यन्त सामाजिक छ।

फेसबुक अहिले यति शक्तिशाली छ कि दस सेकेन्डको भिडियो हेरेपछि मानिस भौतिकवाद, आध्यात्मवाद र दर्शनशास्त्रको अन्तिम निष्कर्षमा पुग्न सक्छ।

फेसबुकले हाम्रो स्मरणशक्ति पनि बचाइदिएको छ। पहिले जन्मदिन सम्झिनुपर्थ्यो, अहिले फेसबुकले सम्झाइदिन्छ। पहिले साथीको हालखबर सोध्नुपर्थ्यो, अहिले उसको प्रोफाइल फोटो हेरेर “Stay Strong” लेखिदिए पुग्छ। पहिले भेटेरै बधाई दिनुपर्थ्यो अहिले केकको इमोजी पठाएर सामाजिक दायित्व पूरा हुन्छ। हामी भावनाको युगबाट इमोजीको युगमा प्रवेश गरिसकेका छौँ।

पहिले मानिसले घर बनाउन ऋण लिन्थ्यो अहिले फोन किन्न ऋण लिन्छ। किनभने घरको छानो चुहिए पनि छिमेकीले देख्दैन तर मोबाइलको क्यामेरा कमजोर भयो भने फेसबुकले क्षमा गर्दैन।

आजकाल विवाहभन्दा पहिले केटा–केटीले एकअर्काको चरित्रभन्दा पहिले फेसबुक प्रोफाइल हेर्छन्। कुनै बेला ज्योतिषले कुण्डली मिलाउँथ्यो, अहिले एल्गोरिदमले “Mutual Friends” मिलाउँछ। ग्रह नमिले पनि बिहे हुन सक्छ, तर “Relationship Status” नमिले समस्या हुन्छ।

फेसबुकको सबैभन्दा ठूलो उपलब्धि भनेको “तुरुन्त विशेषज्ञ उत्पादन उद्योग” हो। बिहान विश्वकप फुटबल भयो भने सबै फुटबल विश्लेषक। दिउँसो सेयर बजार घट्यो भने सबै अर्थशास्त्री। साँझ कुनै विमान दुर्घटना भयो भने सबै उड्डयन विज्ञ। राति कुनै नयाँ रोग देखापर्‍यो भने सबै भाइरोलोजिस्ट। यति धेरै विशेषज्ञ भएको देशमा समस्या किन समाधान हुँदैन त्योचाहिँ कसैले अनुसन्धान गरेको छैन।

फेसबुकले यस्तो समाज निर्माण गरेको छ जहाँ मौन बस्नु नै सबैभन्दा ठूलो अपराध मानिन्छ। कुनै घटना भयो र तपाईंले केही भन्नुभएन भने मानिसहरूलाई शंका लाग्छ—”यिनी किन चुप लागेका होलान्?” मानौँ, संसारका सबै विषयमा आफ्नो धारणा सार्वजनिक गर्नु प्रत्येक नागरिकको मौलिक कर्तव्य हो।

हाम्रो समाजमा एउटा नयाँ जाति जन्मिएको छ—”फेसबुके मानव।” यो प्राणी हाँस्दा पनि पोस्ट गर्छ- रुँदा पनि पोस्ट गर्छ। खाँदा पनि पोस्ट गर्छ- उपवास बस्दा पनि पोस्ट गर्छ। श्राद्ध गर्दा पनि पोस्ट गर्छ, क्रियापुत्रीको भेषमा पनि पोस्ट गर्छ। अस्पताल पुग्दा “Feeling Hopeful” लेख्छ, श्मशान पुग्दा सेल्फीसँग “Life is unpredictable” लेखेर फर्कन्छ। यस प्रजातिको एउटा अनौठो विशेषता छ—यसले आफ्नै जीवनभन्दा अरूको जीवन धेरै राम्रोसँग बुझ्ने प्रयास गर्छ।

फेसबुकको अर्को अनौठो बानी छ—कहिलेकाहीँ यसले मान्छेलाई यति चिप्लाइदिन्छ कि वर्षौँ लगाएर बनाएको छवि एकै क्लिकमा पछारिन्छ। आफूलाई कट्टर भौतिकवादी, क्रान्तिकारी वा कम्युनिस्ट भनेर परिचय दिने “मान्छे” कुनै तीर्थस्थल पुग्छ। हातमा पूजाको थाली समातेर श्रद्धापूर्वक फोटो खिच्छ। फोटो पनि यति राम्रो आउँछ कि उसले फेसबुकमा नराखी बस्नै सक्दैन। फ्याट्ट अपलोड गर्छ र क्याप्सन ठोक्छ—”… … सबैको कल्याण होस्।” बस्, त्यही क्षणसम्म मजबुत देखिएको उसको भौतिकवाद र क्रान्तिकारी कम्युनिस्टको मुकुन्डो फेसबुकको टाइमलाइनमै फ्याट्ट भुइँमा खस्छ। कमेन्टमा कसैले “लाल सलाम” लेख्छ त कसैले “हर हर महादेव!” अनि बिचरा “कमरेड” आफैँ कुन इमोजीमा प्रतिक्रिया दिने भन्ने अन्योलमा पर्छ।

यस्तै, सर्वहारा वर्गको मुक्ति र वर्गसंघर्षको भाषण गर्दै हिँड्ने कुनै नेताजी पाँचतारे होटलमा पुग्छन्। विकट गाउँको गरिबीबाट उठेर पार्टी राजनीतिले पाँचतारे होटलको मेनु पढ्ने हैसियत बनाइदिएको व्यक्तिले त्यहाँको प्रत्येक परिकारसँग फोटो नखिची बस्न सक्दैन। फोटो खिचिसकेपछि देखाउनै पर्‍यो। फेसबुकमा राख्छ र क्याप्सन लेख्छ—”कमरेड, आजको छाक पनि टारियो!”

अब त्यो फोटो हेर्नेले सोचिरहन्छ—यो साँच्चै “छाक टारिएको” हो कि एक महिनाको गाउँलेको खाद्यान्न बजेट एकै बेलुकामा उडाइएको हो? फेसबुक भने मौन बस्दैन। उसले क्याप्सनभन्दा फोटो धेरै बोल्न दिन्छ। क्रान्तिको भाषण र पाँचतारे प्लेटबीचको दूरी कति रहेछ भन्ने हिसाब फेसबुकले आफैँ सार्वजनिक गरिदिन्छ।

वास्तवमा फेसबुक आजको सबैभन्दा इमानदार ऐना हो। यसले कसैको सिद्धान्तको परीक्षा लिँदैन तर उसका औँलाले थिचेको “पोस्ट” बटनले धेरैको वास्तविक मनोदशा, प्राथमिकता र दोहोरो चरित्रलाई क्षणभरमै उदाङ्गो पारिदिन्छ। कतिपय मानिसलाई आफ्ना विरोधीले भन्दा फेसबुकले धेरै पटक नाङ्गो बनाइदिएको हुन्छ।

फेसबुकले पारिवारिक सम्बन्ध कति बलियो बनाएको छ त्यो त समाजशास्त्रीहरूले शोध गर्लान्। तर एउटा कुरा भने निर्विवाद छ—यसले लाखौँ मानिसलाई रोजगार दिएको छ। तलब नहुने, बिदा नपाइने र चौबीसै घण्टा खुला रहने एउटा अनौपचारिक जागिर।

यो पनि पढ्नुहोस्

नेपाली पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा परी निधन

 खराब माैसमका कारण शव ल्याउन समस्या

२ घण्टा अगाडि
Solutions to End Kathmandu Valley’s Recurring Floods

Solutions to End Kathmandu Valley’s Recurring Floods

४ घण्टा अगाडि

मानौँ, तपाईंका फेसबुकमा दुई हजार साथी छन्। अब उनीहरूका जन्मदिनमा शुभकामना दिनै पर्‍यो। त्यसमा पनि कुरा सकिँदैन। उनीहरूका श्रीमान्, श्रीमती, छोरा, छोरी, बुहारी, ज्वाइँ, नाति–नातिना, सम्धी–सम्धिनी, इष्टमित्र र नातागोताका जन्मदिन पनि छुटाउन भएन।

कसैले परीक्षा पास गर्‍यो—बधाई। नियुक्ति भयो—बधाई। सरुवा भयो—बधाई। बढुवा भयो—झन् ठूलो बधाई। सन्तान प्राप्त भयो—हार्दिक शुभकामना। विदेश भ्रमणमा निस्कियो—सुखद यात्राको शुभकामना। घर किन्यो, घडेरी जोड्यो, कार चढ्यो, मोटरसाइकल फेर्‍यो, सुन किन्यो—सबैमा “वाह! धेरै-धेरै बधाई” लेख्नै पर्‍यो। तीज, दशैँ, तिहार, छठ, ल्होसार, क्रिसमसदेखि औँसी, पूर्णिमा, एकादशी, जनैपूर्णिमा, व्रतबन्ध, विवाह, पूजा र तीर्थयात्रासम्म—सबै अवसरमा उपस्थित नभए पनि फेसबुकको कमेन्ट बाकसमा उपस्थित हुनै पर्‍यो। उता कसैको दुःखद निधन भयो भने समवेदना पनि व्यक्त गर्नै पर्‍यो। आखिर फेसबुकको नागरिक कर्तव्य जो ठहरियो।

झन् रमाइलो त के छ भने एउटै परिवारका पाँच जनाले एउटै कार्यक्रमका पाँचवटा छुट्टाछुट्टै पोस्ट गर्छन् र सबैले एकअर्कालाई ट्याग गर्छन्। अब एउटामा मात्र “हार्दिक शुभकामना” लेखेर बाँकी चारवटा छोडिदिनुभयो भने रिसाउने खतरा हुन्छ। त्यसैले सबै पोस्टमा पुगेर उही वाक्य फेरि टाँस्नुपर्छ। आखिर सम्बन्ध जोगाउनु पनि त ठूलो लगानी हो!

हिसाब गरेर हेर्ने हो भने, दुई हजार साथी भएको फेसबुक प्रयोगकर्ताले औसतमा दिनको कम्तीमा पनि ८०–९० वटा कमेन्ट गर्नैपर्छ। फेसबुकमा पोस्ट भएका स्टाट्स, फोटा, लिङ्क आदिमा लाइक, लभ, केयर, हाहा र सेयरको ओभरटाइम त छुट्टै छ।

अन्ततः भन्नुपर्दा फेसबुक अद्भुत आविष्कार हो। यसले संसारलाई जोडेको पनि छ- तोडेको पनि छ। ज्ञान फैलाएको पनि छ- भ्रम बढाएको पनि छ। मित्रता बनाएको पनि छ- वैमनस्यता पनि। समय बचाएको पनि छ भन्ने भ्रमसमेत दिएको छ। त्यसैले फेसबुकलाई दोष दिनु उचित हुँदैन। आखिर यो ऐना मात्र हो। फरक यति हो—साधारण ऐनाले अनुहार देखाउँछ, फेसबुकले चरित्र, अहंकार, पूर्वाग्रह, आत्मप्रदर्शन र कहिलेकाहीँ हाम्रो मूर्खताको संस्करण देखाइदिन्छ। त्यसैले आजको युगमा एउटा नयाँ उखान बनाउनुपर्ने बेला आएको छ—”पहिले मान्छेले फेसबुक चलाउँथ्यो, अहिले फेसबुकले मान्छे चलाउँछ।”

अन्तिम कुरा—फेसबुकले एउटा अद्भुत भ्रम सिर्जना गरेको छ। हामीलाई लाग्छ हामी संसार हेरिरहेका छौँ। वास्तवमा संसारले होइन एल्गोरिदमले हामीलाई के देखाउने भनेर निर्णय गरिरहेको हुन्छ। हामी स्वतन्त्र भएर स्क्रोल गरिरहेका छौँ भन्ने ठान्छौँ तर औँलाको दिशा कसैले धेरै पहिले नै तय गरिसकेको हुन्छ।

अन्त्यमा, मलाई फेसबुकसँग कुनै गुनासो छैन। छुरा दोषी हुँदैन; त्यसले तरकारी पनि काट्छ, हत्या पनि गर्छ। दोष प्रयोग गर्ने हातको हुन्छ। फेसबुक पनि त्यस्तै हो। यसले हराएका साथी भेटाइदिएको छ, विपतमा सहयोग जुटाइदिएको छ, ज्ञान बाँडेको छ, अन्यायविरुद्ध आवाज उठाएको छ। तर यसले अहंकारलाई मञ्च, अफवाहलाई पखेटा र आत्मप्रदर्शनलाई पुरस्कार पनि दिएको छ। हामीले ऐना किनेर दोष ऐनालाई दिइरहेका छौँ जबकि अनुहार धुनुपर्ने जिम्मेवारी हाम्रो आफ्नै हो।

त्यसैले फेसबुकलाई बधाई, शुभकामना र समवेदना व्यक्त गर्ने साधनमा मात्र सीमित नराखौँ। यसलाई रचनात्मक र सृजनशील काम, सूचना, चेतना र मनोरञ्जनको प्रभावकारी माध्यमका रूपमा उपयोग गरौँ।

सायद त्यसैले आजको सभ्यतामा सबैभन्दा ठूलो प्रश्न यो होइन—”तपाईं फेसबुक चलाउनुहुन्छ कि चलाउनुहुन्न?” प्रश्न त केवल यत्ति हो—”मोबाइल तपाईंको हातमा छ कि तपाईं मोबाइलको हातमा?”

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

फेसबुक: बधाई, शुभकामना र समवेदना!!!

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

 खराब माैसमका कारण शव ल्याउन समस्या

श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 

नेपाली पर्वतारोही निर्मल पुर्जाको हिमपहिरोमा परी निधन

गोठाटारमा आगलागी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक