काठमाडौं । देशभरका किसानहरूले महिनौँको पसिना बगाएर उत्पादन गरेको मकै बाली तिप्ने बेलामा ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सरकारको तत्काल ध्यानाकर्षण गराएका छन्।
ताेखाका किशानहरू मकैको घोगा तिप्ने बेलामा बँदेल,काग र अन्य चराचुरुङ्गीले टिपेर दाना सखाप पारेपछि किसानको वर्षभरिको आशा निराशामा परिणत भएको छ।
खेतमा दिनरात श्रम गर्ने किसानले उत्पादन जोगाउन अनेक उपाय अपनाए पनि बदेर चराको आतंक रोक्न नसक्दा ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य भएका छन्।
कृषि प्रधान देशमा किसानको उत्पादनमा प्रभावकारी सुरक्षा नीति ल्याउन नसक्दा किसान निराश बन्दै गएको स्थानीय किसानहरूको गुनासो छ।
खेतमा बाली जोगाउन किसान स्वयं पहरेदार बन्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले तत्काल वैज्ञानिक तथा दीर्घकालीन समाधान ल्याउनुपर्ने आवश्यकता देखिएको छ। कृषकहरूले सरकारसँग मकै लगायत बालीमा बँदेल,काग चराका कारण भएको क्षतिको क्षतिपूर्ति व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
किसानका लागि बाली सुरक्षा कार्यक्रम सञ्चालन गर्न आधुनिक बर्ड रिपेलर (Bird Repeller), जाली तथा अन्य प्रविधिमा अनुदानमा उपलब्ध गराउनुका साथै कृषि बिमा प्रणालीलाई प्रभावकारी बनाई यस्ता प्राकृतिक तथा जैविक क्षतिमा समावेश गराउनु पर्ने तथा स्थानीय तहमार्फत किसानलाई तत्काल प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने माग रहेकाे छ ।


