काठमाडाैं । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी सूचना र अफवाह फैलिन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा हान्टाभाइरसको सामुदायिक संक्रमण वा प्रकोपको अवस्था देखिएको छैन ।
मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना, अफवाह वा भ्रमपूर्ण सामग्रीको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्यसम्बन्धी जानकारीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा अन्य आधिकारिक र विश्वसनीय स्रोतबाट जारी हुने सूचनामाथि मात्र विश्वास गर्न अनुरोध गरिएको छ ।
स्वास्थ्य अधिकारीहरूले गलत सूचना फैलाउने, शेयर गर्ने वा त्यसलाई बढावा दिने कार्यले अनावश्यक त्रास सिर्जना गर्न सक्ने भएकाले जिम्मेवार ढंगले सूचना आदानप्रदान गर्न आग्रह गरेका छन् ।
मन्त्रालयले कुनै पनि नयाँ स्वास्थ्य जोखिम देखा परेमा आधिकारिक माध्यममार्फत समयमै जानकारी गराइने जनाइएको छ ।


