मुक्तिनाथ । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मनाङ जिल्ला नेस्याङ गाउँपालिका –९ मा अवस्थित तिलिचो तालमा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले आयोजित तिलिचो ताल भक्तियात्रामा एक सयभन्दा बढीको धार्मिक भक्तजनको सहभागितामा समापन भएको छ ।
स्वामी ऋषि प्रपन्नाचार्यको सङ्कल्पमा विश्वभर रहेका हिन्दु धर्मावलम्बीहरू एक पटक पुग्नै पर्ने गन्तब्य बनाउन पहिलो पटक आयोजित यात्रामा ५० जना पण्डितको मात्रै सहभातिा रहेको थियो ।
शुक्रबार म्याग्दीको धार्मिकस्थल गलेश्वरधामबाट सुरू भएको यात्रा मुस्ताङको घरपझोङ गाउँपालिकाले स्वागतसँगै शनिबार विहानै तिलिचो तालमा पुगेर धार्मिक पूजाआजा गरी यात्राको विधिवत रूपमा आइतबार समापन गरिएको भक्ति यात्राको संयोजनकर्ता गुरु ईश्वर रेग्मीले बताउनुभयो ।
मुस्ताङको कागबेनी, मुक्तिनाथको दर्शनसँगै तिलिचो तालसम्म पुगेर प्रचार—प्रसारको पहिलो प्रयास सफल भएको रेग्मीको भनाइ छ । समुद्री सतहबाट चारसय ९१९ मिटरको उचाइमा रहेको तिलिचो तालसम्म पुग्न मुस्ताङको घरपझोङ –५ ठिनी गाउँबाट भ्रप्सोसम्म सडक सञ्जाल पुगेको छ ।
पैदल मार्गबाट करिब ७ देखि १० घण्टामा पुगेर पूजा गरी फर्किएको स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभो । ऋषि प्रपन्नाचार्यले भन्नुभयो, ‘‘भगवान शिवले आफैँ तिब्वतमा रहेको कैलाशभन्दा पनि सुन्दर छ भनेर प्रशंसा गरेको तिलिचोमा यसअघि धार्मिक यात्रा भएको थिएन, अब हरेक बर्ष भक्तियात्रा गर्ने सोच बनाएको छु ।’’
ऋषि प्रपन्नाचार्यले निलगिरी हिमालको काखमा अवस्थित तिलिचो ताल पर्यटकीयस्थल मात्र नभई आध्यात्मिक तीर्थस्थल भएकाले मिनी कैशाल बनाउने बताउनुभयो । तिलिचो भक्तियात्रामा १६ बर्षदेखि ७५ बर्ष उमेरका भक्तजनको सहभागिता थियो ।
सडक सञ्जाल र पदमार्ग प्रयोग गरी तालमा पुगेको टोलीले श्रीमद्वाल्मीकिय, रामायण पाठ पारायण, हरि संकीर्तन, सुदर्शन हवन र तीर्थ पूजनको कार्य समेत गरेको पण्डित बालकृष्ण सुबेदीले बताउनुभयो ।
तिलिचो तालको धार्मिक विश्वासअनुसार परापूर्वकालमा भगवान् शिवले त्यहाँ तपस्या गर्नुभएको थियो । कागबेसिनी (कागभुशुण्डि) ऋषिले ज्ञान प्राप्त गर्नुभएको किंवदन्ती छ । तिलिचो ताल बौद्ध धर्मावलम्बीहरूका लागि आध्यात्मिक महत्व बोकेको क्षेत्र भएकाले मुस्ताङको मुक्तिनाथ, कागबेनी, दामोदर कुण्ड क्षेत्रमा आउने भारतसहित तेस्रो मुलुकका हिन्दु धर्मालम्बीलाई आकर्षित गर्न भक्तियात्राले सघाउने मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताउनुभयो ।
पछिल्लो समय पदयात्रामार्फत स्वदे्शी तथा विदेशी पर्यटक समेत मुस्ताङतर्फबाट तिलिचो ताल जाने गर्दछन् ।


