काठमाडाैं । नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापक दीपक अर्यालले आगामी आइतबारदेखि केही दिन देशैभर भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । यद्यपि, कहाँकहाँ कति वर्षा हुन्छ भन्ने विषयमा विस्तृत जानकारी दिन भने अझै ३–४ दिन लाग्ने उहाँले जनाउनुभयो ।
‘आज आइतबार भयो अर्को आइतबारदेखि ठूलो वर्षा हुन्छ । यो ‘एल निनो’ वर्ष हो किनकि यो पूर्वी प्रशान्त महासागरमा भर्खरै बनेको छ । यो वर्षको अन्त्यतिर सम्भवतः मनसुन पछि सुपर एल निनो बन्ने अपेक्षा गरिएको छ । यद्यपि, एल निनोले नेपालमा मनसुन ढिलो गरेको छ । त्यसैले हामीकहाँ यस वर्ष मनसुन ढिलो भएको हो’–मौसमविद् अर्यालले भन्नुभयो ।
अस्ति शुक्रवारबाट देशको पूर्वी भागबाट प्रवेश गरिसकेको मनसुन प्रणाली देशैभर विकास हुन अझै केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो । नेपालमा मनसुन भित्रिने सामान्य औसत मिति जुन १३ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी नेपाल प्रवेश गरेको हो । यसअघि अघिल्लो वर्ष भने मनसुन सरदर मितिभन्दा १५ दिनअगावै नेपाल भित्रिएको थियो । हाल नेपालमा भित्रिएको मनसुन प्रणाली कमजोर अवस्थामा रहेकाले देशका अन्य क्षेत्रमा यसको विस्तार हुन अझै केही दिन लाग्ने सम्भावना देखिएको मौसमविद् अर्यालको धारणा छ ।
यो वर्ष सुरुमा बढी त्यसपछि कम फेरि अन्तिमतिर बढी वर्षा हुने सम्भावाना छ , अर्थात भदौ अन्तिम सातादेखि असोज महिनाभित्र मौसम बाहिरिने समयमा ठूलो वर्ष हुने सम्भावना रहेको मौसमविद्हरूको दाबी छ । यो वर्ष छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र पानीको अभावले मनसुन अझ खतरनाक बन्न सक्ने आशंका छ । मौसमविद्हरूले मनसुनी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना र पूर्वानुमानको आधारमा मात्र आफ्नो योजना बनाउन र घर छाडेर बाहिर जान आग्रह गरेका छन् ।
साथै सर्वसाधारण तथा सरोकारवाला निकायलाई मौसम विज्ञान विभागले जारी गर्ने ‘तीन दिने मौसम बुलेटिन’ नियमित रूपमा हेर्न र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेको छ । यो वर्षको मौसम पुर्वअनुमान गर्दै मौसमविद् अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पूर्वी नेपालमा मनसुन आइपुगे पनि यो कम्तीमा एक हप्तामा पश्चिमी नेपाल नपुग्न सक्छ ।’
पश्चिमी वायु अझै सक्रिय छ र मनसुनीय हावा त्यति बलियो छैन त्यसैले सम्पूर्ण नेपालमा पुग्न धेरै समय लागिरहेको छ । यस मनसुनमा औसतभन्दा कम वर्षा हुने देखाएको छ । यद्यपि, यो परिवर्तन भइरहेको छ त्यसैले पूर्वी नेपालमा सामान्य वर्षा हुन सक्छ, केही ठाउँमा अझै कम वर्षा हुन सक्छ । पश्चिमी नेपालमा सामान्यभन्दा कम वर्षा हुने सम्भावना छ र पश्चिमी तराईमा धेरै कम वर्षा हुन सक्ने उहाँको धारणा थियो ।
विभागले अहिले कोशी प्रदेशका पूर्वी तटीय तथा हिमाली क्षेत्रका सीमित भू–भागमा मात्र मनसुनको प्रभाव देखिएको जनाएको छ भने आगामी दिनमा यो क्रमशः सक्रिय बन्दै देशका अन्य भागमा पनि विस्तार हुनेछ ।
दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) र नेपालको जल तथा मौसम विज्ञान विभागले गरेको संयुक्त आंकलनअनुसार प्रशान्त महासागरमा ‘एल निनो’ प्रणालीको प्रभाव र हिन्द महासागरको विशिष्ट तापमानका कारण यो वर्ष नेपालसहित दक्षिण एसियाका धेरैजसो भू–भागमा औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना छ ।
यस वर्षको प्रि–मनसुन (मार्च–मे) सिजनमा भने नेपालमा विगत ४५ वर्षयताकै सबैभन्दा धेरै पानी परेर नयाँ कीर्तिमान कायम भएको छ । मनसुन प्रवेश गर्नुअघि प्रिमनसुनको समयमा सामान्यतया औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्दछ । यस वर्ष (सन् २०२६) औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७७ मिलिमिटर वर्षा भएको छ । जुन सामान्य औसतभन्दा झन्डै डेढ गुणा बढी हो ।
विभागले सन् १९८१ देखि देशका १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांकलाई आधार मानी प्रि–मनसुनको वैज्ञानिक विश्लेषण गर्दै आएको छ । विभागको तथ्याङ्कअनुसार यसअघि सन् १९९० मा सबैभन्दा धेरै ३३१.४० मिलिमिटर पानी परेको रेकर्ड नै अहिलेसम्मकै उच्च रहेको जनाएको छ । प्रि–मनसुनमा धेरैभन्दा धेरै वर्षा भयो भने मनसुनमा कम वर्षा हुने मौसमविद अर्यालको भनाइ छ ।
उहाँका अनुसार जुनदेखि सेप्टेम्बरसम्मको १२० दिनको अवधिमा कुल वर्षातको ८० प्रतिशत र हिउँद र प्रि–मनसुनमा २० प्रतिशत पानी पर्ने सम्भावना रहेको छ । योवर्ष विभिन्न भेगमा फरक–फरक मनसुनहुने छ । कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी र कोशी प्रदेशका दक्षिण भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । ती प्रदेशमा ५५ देखि ६५ प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको विभागको प्रक्षेपण छ ।
यसै गरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षात हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
यही अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तर–पूर्वी, लुम्बिनी प्रदेशको पश्चिमी, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी, वागमती प्रदेशका पश्चिमी, मधेस प्रदेशका पूर्वी तथा पश्चिमी र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ ।

