काठमाडौं । विश्वकप–२०२६ मा अस्ट्रियाले विजयी शुरूआत गरेको छ । अस्ट्रियाले बुधबार सम्पन्न खेलमा जोर्डनमाथि ३–१ गोलको रोमाञ्चक जित हासिल गरेको हो । अमेरिकाको क्यालिफोनिर्यामा सम्पन्न खेलको पहिलो हाफमै अस्ट्रियाले अग्रता लिएको थियो । अस्ट्रियाका लागि पहिलो गोल रोमानो सोमिडले गरे । तर, अस्ट्रियाको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ५०औँ मिनेटमा जोर्डनका लागि अली ओल्वानले जवाफी गोल फर्काएका थिए ।
निर्धारित समयको ७६औँ मिनेटमा अस्ट्रियाले फेरि २–१ को अग्रता बनायो । जोर्डनका खेलाडी यजान अल–अरबबाट आत्मघाती गोल भएको थियो । इन्जुरी समयको अन्त्यमा अस्ट्रियाले पेनाल्टी प्रहारको अवसर पायो । विपक्षीको डी–बक्स एरियामा जोर्डनका खेलाडीले हातले बल छोएपछि अस्ट्रियाले पेनाल्टी पाएको थियो । सोही अवसरको फाइदा उठाउँदै अस्ट्रियाका लागि मार्को अर्नाउतोभिचले गोल गरे । समूह ‘जे’मा चारवटै टोलीले एक–एक खेल सकेका छन् ।
तीन अंकसहित अर्जेन्टिना पहिलो र समान अंक बटुलेको अस्ट्रिया दोस्रो स्थानमा छन् । यो समूहको पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको थियो ।


