एजेन्सी । जापानको नागोया सहरमा १६ दिन चलेको एसियाली खेलकुदमा कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ गरिएको छ।
करिब चार वर्षपछि २१ औं संस्करण कतारको दोहामा आयोजना हुनेछ। २०औं एसियाली खेलकुदको आयोजक जापानले कतारलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को झन्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो। झन्डा ओसिएका अध्यक्ष शेख जोएन बिन हमाद अल थानीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीलाई हस्तान्तरण गरे।
यस एसियाडमा खेलाडी, प्रशिक्षक र अफिसियल गरी १७ हजारभन्दा बढी सहभागी रहे। एक शरणार्थी टिमसहित एसियाका ४५ राष्ट्रका १० हजारभन्दा बढी खेलाडीले ४३ खेल विधामा ४ सय ६९ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।
एसियाली खेलकुदको २० औं संस्करणमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ। जहाँ चीन सर्वाधिक १६९ स्वर्ण, ८९ रजत, ८३ कांस्यसहित कुल ३४१ पदक जितेर शीर्षमा रह्यो। आयोजक जापानले ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्य तथा दक्षिण कोरियाले ३९ स्वर्ण, ४३ रजत र ६८ कांस्य जितेर दोस्रो र तेस्रो स्थान ओगटे।
भारतले २१ स्वर्णसहित ८५ पदक जितेर चौथो स्थान ओगट्दा नेपाल भने केवल २ कास्यमा सीमित भयो।
नेपाललाई कबड्डी टोलीले कास्य दिलाउँदा करातेका तेन्जिङ शेर्पाले पनि कास्य पदक दिलाएका थिए। अघिल्ला दुई संस्करणमा रजत जितेको नेपालले यो पटक स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य लिए पनि ऐतिहासिक खराब प्रदर्शनको सिकार भयो।


