काठमाडौं। राहदानी (पासपोर्ट) आपूर्तिमा भएको अनियमितता आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई नियन्त्रणमा लिएको छ। अख्तियार स्रोतका अनुसार मंगलबार नियन्त्रणमा लिइएका महानिर्देशक अर्याल, विभागका अन्य दुई उच्च अधिकारी र एक व्यवसायीमाथि हिरासतमा राखेर बयान लिन सुरु गरिएको छ।
नियन्त्रणमा लिइने अन्यमा विभागको प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधि (आइटी) निर्देशक सुनिल कुमार केसी रहेका छन् । यस्तै, पासपोर्ट आपूर्ति प्रक्रियामा जोडिएका व्यवसायी सिद्धार्थ थापालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । थापा नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन् ।
अख्तियारको टोलीले सोमबार साँझ नै राहदानी विभाग पुगेर आपूर्तिसँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो। अख्तियारको टोली पुग्नुअघि सोमबार दिउँसो महानिर्देशक अर्याल प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालय समेत पुगेका थिए।
विभागका जिम्मेवार अधिकारी र आपूर्तिकर्ता व्यवसायी एकैसाथ नियन्त्रणमा परेसँगै अख्तियारले पासपोर्ट खरिद प्रक्रिया र सेटिङको आशङ्कामा विस्तृत अनुसन्धान अघि बढाएको छ।


