काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी निकायका पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विभिन्न परिषद्का साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त रहेका पदाधिकारी पदका लागि आवेदन आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य सचिव, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारका लागि आवेदन माग गरिएको छ । त्यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ। यसैगरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि पनि आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सूचना जारी गर्दै सम्बन्धित ऐन तथा नियमावलीले तोकेको योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।
आवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारस्थित नीति, योजना तथा अनुगमन महाशाखामा वा मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत पेस गर्न सकिने सूचनामा उल्लेख छ । आवेदनसँगै पेस गर्नुपर्ने कागजात र कार्यविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ ।



