काठमाडौं । विद्युत् प्रणालीमा आएको हाई भोल्टेजका कारण केही दिनदेखि अवरुद्ध भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आएको छ।
अस्पतालमा रहेका दुई वटा रेडियोथेरापी मेसिनमध्ये हाई भोल्टेजका कारण लिन्याक मेसिनमा क्षति पुगेपछि सेवा प्रभावित भएको थियो। मर्मतपछि रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उपचार रोकिएका बिरामीलाई प्राथमिकताका आधारमा पुनः उपचार सुरु गरिएको छ। सेवा पुनः सञ्चालन भएको पहिलो दिन १५ जना बिरामीको रेडियोथेरापी उपचार गरिएको जनाइएको छ।
लिन्याक मेसिनसँगै पोर्टल इमेजर तथा सिटी सिमुलेटरमा समेत क्षति पुगेकाले उक्त पार्टस् मर्मत भएपछि नयाँ बिरामीलाई समेत उपचारमा समेट्न सकिने अस्पतालले जनाएको छ।
अस्पतालमा रहेको अर्को भाट्रोन मेसिनबाट भने नियमित रूपमा दैनिक करिब ६५ जना बिरामीले रेडियोथेरापी सेवा लिइरहेका छन्।
अस्पतालले विद्युत् प्रणालीमा आएको समस्याका कारण सेवा प्रभावित हुँदा उपचारमा परेको असुविधाप्रति बिरामी तथा आफन्तसँग क्षमायाचना गर्दै उपचार रोकिएका बिरामीलाई प्राथमिकताका साथ सेवा प्रदान गरिने जनाएको छ।


