काठमाडौं । नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न चुनौती दिएको छ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्या अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएकी हुन् । उनले बजेटको छलफलका क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएको आरोप लगाउँदै उनले टी–स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकता राखेर खोल्न चुनौती दिइन्।
उनले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडीलगायतका सबै प्रकरणको छानबिन गर्न पनि आग्रह गरिन्। उनले विपक्षीमाथी लगाइएका आरोपहरू छानबिनबाट पुष्टि नभएमा आरोप लगाउनेहरूले त्यसको जिम्मेवारी लिन तयार छन् कि छैनन् ? भन्दै उनले प्रश्न गरिन्। सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले संसदमा विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै अर्यालले त्यसलाई खेदजनक भएको जनाइन्।
स्तै उनले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणमा दिएको अभिव्यक्तिको पनि आलोचना गरिन्। परराष्ट्रमन्त्रीले ‘अतीतको बोझ बोक्न सक्दैनौं’ भन्ने अभिव्यक्ति दिएर राष्ट्रवादी अडान कमजोर बनाएको उनको आरोप छ। उक्त अभिव्यक्ति नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी दाबीलाई संकेत गरेको हो कि भन्ने गम्भीर प्रश्न उठेको उनको धारणा छ।
उनले सरकारका मन्त्रीहरूले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा राष्ट्रको नीतिसँग जोडिने भएकाले राष्ट्रिय हित र परराष्ट्र नीतिलाई कमजोर बनाउने अभिव्यक्तिबाट बच्नुपर्ने जनाइन्।


