एजेन्सी । विश्वकप समूह ‘ई’ को पहिलो खेलमा आइतबार चार पटकको विजता जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने छ । सरसर्ती हेर्दा यी दुई टिमबिच ठुलो भिन्नता देखिन्छ तर जर्मनीका डिफेन्डर निको स्कलटरबेकले कुराकाओलाई हलुका रूपमा लिन नमिल्ने बताउनुभएको छ । सन् २०१८ र २०२२ को विश्वकपमा समूह चरणमै बिदा भएकाले पनि जर्मनी यस पटक पहिलो खेलमै सतर्क भएर खेल्ने पक्का छ ।
कुराकाओ विश्वकपमा खेल्ने अहिलेसम्मकै सबभन्दा सानो राष्ट्रका रूपमा इतिहास रच्दै छ । कुराकाओ विश्वकपमा चयन हुने अहिलेसम्मकै सबभन्दा सानो राष्ट्र हो । कुराकाओको क्षेत्रफल मात्र १७१ वर्ग माइल र जनसङ्ख्या करिब एक लाख ५६ हजार रहेको छ । नवप्रवेशी कुराकाओका लागि दाबेदार जर्मनीसँगको पहिलो खेल विश्वकपमा गजबको परिचय हुन सक्छ । यसअघि कुराकाओ लामो समय नेदरल्यान्ड्सको औपनिवेशिक राष्ट्र थियो । क्यारेबियन टापु कुराकाओको टिममा नेदरल्यान्ड्समा जन्मेका र हुर्केका खेलाडीको बाहुल्य छ । अझ हस्टनमा निकै गर्मी हुने भएकाले पनि जर्मनीका लागि खेल सहज हुने छैन । यद्यपि कुराकाओविरुद्ध प्रभावशाली प्रदर्शन गरेर जर्मनी लामो समयपछि विश्वकपमा पुरानै रूपमा फर्कने प्रयासमा छ । डिफेन्डर स्कलटरबेकले जर्मनी विश्वकै शीर्ष टिम हो भन्दै पछिल्ला दुई संस्करणमा पहिलो चरणबाटै बिदा भएपछि टिम राम्रो मानसिकतामा रहेको बताउनुभएको छ ।
जापान–नेदरल्यान्ड्स
जापानका प्रशिक्षक हाजिमे मोरियासु आइतबार नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्दा हालै सन्न्यास लिएका कप्तान वाटारू इन्डोको स्थान कसले लिन्छ भन्ने चिन्तामा हुनुहुन्छ । हाजिमे लामो समयदेखि जापानी टिमको मिडफिल्डको मुटुका रूपमा रहनुभएको थियो । समूह ‘एफ’ मा इन्डोले नेदरल्यान्ड्सविरुद्ध खेल्ने अपेक्षा गरिएको थियो तर खुट्टाको चोटका कारण दुई दिनअघि ३३ वर्षीय इन्डो अन्तर्राष्ट्रिय फुटबलबाटै सन्न्यास लिन बाध्य हुनुभयो ।
इन्डोको बहिर्गमनसँगै अब आयो तनाकामा मिडफिल्डर चलाउने बढी जिम्मेवारी रहने छ । तनाकालाई काइसु सानो अथवा डाइची कमाडाले साथ दिनुहुने छ । जापानका प्लेमेर ताकेफुसा कुबाले इन्डोको सन्न्यासले टिम नै स्तब्ध भएको तर बाँकी खेलाडीले लक्ष्य पूरा गर्नुपर्ने बताउनुभयो ।
नेदरल्यान्ड्सको टिम पनि गोलरक्षक बर्ट भरबु्रगेनले हालै बेहोरेको चोटका कारण चिन्तित छ । विश्वकप अभ्यास खेलमा उज्बेकिस्तानसँगको अभ्यास खेलमा भरबु्रगेन घाइते हुनुभएको थियो । नेदरल्यान्ड्सका फरवार्ड मेम्पिस डिपेले पनि पछिल्लो तीन महिनामा निकै कम समय मैदानमा बिताउनुभएको छ । डिपे नेदरल्यान्ड्सका सर्वाधिक गोलकर्ता हुनुहुन्छ ।
सन् २०१३ पछि यी दुई टिम पहिलो पटक भिड्न लागेका हुन् । सो समय यी दुई टिमले २–२ को बराबरीमा खेलेका थिए । यसै गरी सन् २०१० मा भएको विश्वकपमा यी दुई टिमको भिडन्त हुँदा नेदरल्यान्ड्सले जापानलाई १–० ले हराएको थियो । सो संस्करणमा नेदरल्यान्ड्सले फाइनलसम्मको यात्रा गरेको थियो । नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्डो कोम्यानले जापान निकै बलियो टिम भएकाले सो टिमप्रति सम्मान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर हामी हल्यान्ड हौँ, हामीलाई आफूमाथि विश्वास छ । मलाई लाग्छ, जापानसँगको खेल रोमाञ्चक र कठिन हुने छ ।”
इक्वेडर–आइभरी कोस्ट
विश्वकप फुटबल २०२६ अन्तर्गत आइभरी कोस्टविरुद्ध खेल्दा इक्वेडरको डिफेन्स सबैको नजरमा रहने छ । कडा डिफेन्ड्सकै कारण दक्षिण अमेरिकी टिम इक्वेडर पछिल्ला २० खेलमा अपराजित छ । सन् २०२४ मा ब्राजिलसँग पराजय बेहोरेपछि इक्वेडर अहिलेसम्म हारेको छैन । दक्षिण अमेरिका जस्तो कठिन छनोटमा पनि इक्वेडरले मात्र छ गोल बेहोरेको थियो । दक्षिण अमेरिकी छनोटमा विश्वकप च्याम्पियन अर्जेन्टिनापछि इक्वेडरले दोस्रो स्थान बनाएको थियो । इक्वेडरले पाँचौँ पटक विश्वकप खेल्दै छ । विश्वकप अभ्यास खेलमा पनि दक्षिण कोरिया र स्कटल्यान्ड मात्र होइन, फ्रान्सलाई पनि उसकै मैदानमा हराएर इक्वेडरले आफूलाई यस विश्वकपमा हेर्नलायक टिम हुने साबित गरिसकेको छ ।
यद्यपि आइभरिकोस्टका यान डियोमान्डेको नेतृत्वमा रहेको अग्रपङ्क्तिले इक्वडेरको परीक्षा लिने अनुमान गरिएको छ । किनभने आइभरिकोस्टमा सिमान आडिन्ग्रा र अमान डियालो जस्ता स्ट्राइकर पनि हुनुहुन्छ ।
स्विडेन–ट्युनिसिया
अलेक्ज्यान्डर इसाक र भिक्टर ग्योकोरेस रहेको स्विडेनको अग्रपङ्क्ति यस विश्वकपकै उत्कृष्टमध्ये एक हो । समूह ‘एफ’ को पहिलो खेलमा ट्युनिसियासँग खेल्दा भने यी दुवै विश्वस्तरीय स्ट्राइकरको परीक्षा हुने छ । ट्युनिसिया छनोट चरणमा बिनागोल बेहोरेर विश्वकपमा चयन भएको हो ।
२८ वर्षीय ग्योकेरेस इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेर विश्वकप खेल्दै हुनुहुन्छ । प्लेअफमा अन्तिम समयमा उहाँले गरेको गोलले पोल्यान्डलाई हराएर स्विडेन विश्वकपमा चयन भएको थियो । गत सेप्टेम्बरमा ठुलो रकममा न्युक्यासलबाट लिभरपुल पुगेका इसाक भने अहिले लयमा हुनुहुन्न । उहाँको स्वाभाविक खेल विश्वकपमा फर्किएमा स्विडेनहेर्नलायक टिम हुने छ ।


