बेइजिङ । चीनको राजधानी बेइजिङ यतिबेला अत्यधिक गर्मीको चपेटामा छ । सडकहरू तातिएका छन्, सहरको दैनिकी गर्मीको लयमा चलिरहेको छ । तर, शुक्रबार साँझ फोर सिजन होटलको सभाकक्षमा प्रवेश गर्ने जो-कोहीलाई लाग्थ्यो, मानौं उनीहरू हिमालको काखमा पुगेका छन् ।
सजिएका हिमालका तस्वीर, पर्दामा देखाइँदै गरेका सगरमाथाका दृश्य, नेपाली र चिनियाँ संस्कृतिको झल्को दिने प्रस्तुति र संसारको छानो छोएका मानिसहरूको उपस्थितिले केही घण्टाका लागि बेइजिङलाई हिमाली वातावरणमा बदलिदिएको थियो ।
यीमध्ये कसैले एकपटक, कसैले धेरैपटक सगरमाथाको चुचुरो छोइसकेका छन् । उनीहरूका लागि सगरमाथा नक्सामा रहेको एउटा शिखर मात्र थिएन, जीवनको एउटा अध्याय पनि हो ।
‘कल्पना गर्नुस्, तपाईं संसारको सबैभन्दा अग्लो बिन्दुमा उभिनुभएको छ। हावा यति पातलो छ कि सास फेर्न पनि संघर्ष गर्नुपर्छ। तल हेर्दा सिंगो संसार तपाईंको खुट्टामुनि देखिन्छ’, विश्व कीर्तिमानी आरोही लाक्पा डेन्डी शेर्पाले आफ्नो भाषण कुनै तथ्यांक वा उपलब्धिबाट सुरु गरेनन् ।
उनले आफ्ना अघिल्तिर रहेका करिब २ सय नेपाली र चिनियाँ नागरिकलाई सिधै सगरमाथाको चुचुरोसम्म पुर्याए । उनले फेरि थपे – मेरो यात्रा संसारको छानाबाट सुरु भएको होइन, नेपालको एउटा सानो हिमाली गाउँबाट सुरु भएको हो ।
हिमालको काखमा हुर्केका लाक्पाका लागि पहाड कहिल्यै साहसिक खेलको गन्तव्य थिएनन् । ती उनका घर थिए, जीवन थिए, जीविकाको आधार थिए । उनले सम्झिए, पहाडले मानिसलाई धेरै छिट्टै एउटा कुरा सिकाउँछ । प्रकृतिसँग अहंकार चल्दैन । ‘पहाडले तपाईंको रेकर्ड हेर्दैन, तपाईंको योजना हेर्दैन, उसले तपाईंको धैर्य र अनुशासन मात्र हेर्छ’, उनले भने ।
लाक्पा डेन्डीले सन् २०१८ मा १० दिन १८ घण्टा ३० मिनेटभित्र तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । त्यसभन्दा अघि र पछि पनि उनले संसारका अग्ला हिमालहरूमा अनेकौँ सफल आरोहण गरेका छन् ।
दशकौँदेखि विश्व पर्वतारोहणको इतिहास लेखिँदा धेरैजसो चर्चा विदेशी आरोहीहरूको सफलतामाथि केन्द्रित भएको भन्दै उनले सगरमाथाको बाटो बनाउने, डोरी फिक्स गर्ने, सामान बोक्ने र जोखिम उठाउने स्थानीय शेर्पा तथा पर्वतारोहणकर्मीहरूको योगदान अझै पर्याप्त रूपमा नचिनिएको बताए। ‘सगरमाथाको सफलताका पछाडि हजारौँ मिटर डोरी बोक्ने र बाटो बनाउने मानिसहरू हुन्छन्। उनीहरूको कथा पनि सुनिनुपर्छ,’ उनले भने ।
कार्यक्रमको सुरुवातमा नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले नेपालको हिमाल, संस्कृति र आतिथ्य संसारकै लागि आकर्षणको केन्द्र रहेको बताउँदै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिइन । उनका अनुसार हिमालहरू केवल प्राकृतिक सम्पदा मात्र नभई नेपाल र चीनबीचको सम्बन्धलाई जोड्ने साझा आधार पनि हुन् ।
उनले सगरमाथा मानव साहस, अन्वेषण र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक भएको बताइन । नेपालले पर्वतीय पर्यटनलाई दिगो र जिम्मेवार बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्दै खनालले हिमालय विश्वकै साझा सम्पदा भएकाले यसको संरक्षणमा सबैको भूमिका आवश्यक रहेको बताइन ।
नेपाली दूतावासका काउन्सेलर विवेक रिजालले नेपालका हिमाल, हिमाली संस्कृति र साहसिक पर्यटनको सम्भावनाबारे प्रस्तुति दिए। उनले सगरमाथादेखि अन्नपूर्ण, मनास्लु र अन्य हिमशृङ्खलासम्मका दृश्य प्रस्तुत गर्दै नेपाललाई विश्वकै अनुपम साहसिक पर्यटन गन्तव्यका रूपमा चित्रण गरे।
सांसद तथा सगरमाथा आरोही मिङ्मा ग्याबु शेर्पाले हिमालमा जलवायु परिवर्तनका असर दिनप्रतिदिन स्पष्ट बन्दै गएको बताए । उनका अनुसार हिमनदीहरू पग्लिनु, हिउँको स्वरूप परिवर्तन हुनु र आरोहणका जोखिम बढ्नु अहिलेको सबैभन्दा ठूलो चिन्ताको विषय हो । ‘हामीले हिमालबाट धेरै लिएका छौं, अब त्यसलाई जोगाउने जिम्मेवारी पनि लिनुपर्छ’, उनले भने ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतारोहणको भविष्य दिगोपना, सुरक्षा र वातावरणीय जिम्मेवारीमा आधारित हुनुपर्ने बताए । ‘हिमालयलाई जोगाउनु भनेको भविष्यलाई जोगाउनु हो’, उनले भने।
चिनियाँ ट्रेकिङ सामग्री उत्पादक कम्पनी कैलाशकी सह–संस्थापक चु हाइयानले नेपाल र चीनबीच पर्वतीय पर्यटन तथा पर्वतारोहण सहकार्य झन् विस्तार हुँदै गएको बताइन्। ‘हिमालले दुई देशका मानिसलाई जोड्ने साझा भाषा निर्माण गरेको छ,’ उनको भनाइ थियो।
चिनियाँ आरोही चाओ मैलिन र पर्वत गाइड तथा उद्यमी लुओ गिरेसीले पनि सगरमाथा आरोहणका अनुभव सुनाए । उनीहरूले सगरमाथा पुग्नु गन्तव्यमा पुग्नु मात्र नभएर आफैंलाई नयाँ रूपमा चिन्ने यात्रा पनि रहेको उल्लेख गरे ।


