काठमाडौं । लागूऔषध मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ४६ वर्षीय निर बहादुर गुरूङ र काठमाडौं टोखा नगरपालिका-११ भण्डारी टोल बस्ने ३२ वर्षीय सुरेन्द्र थापा रहेका छन् ।
पक्राउ मध्ये जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा ५ वर्ष कैद र नगद ५ हजार जरिवाना सजाय फैसला ठहर भएका निर बहादुर कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा रहेका थिए । साथै उक्त मुद्दामा सुरेन्द्र पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौं रहेका थिए । २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर बहादुरलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट र सुरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-११ भण्डारी टोलबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।


