-ईश्वरी सिंह
काठमाडौं र नयाँ दिल्लीबीचको सम्बन्धमा तनाव बढिरहेको वर्तमान परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण हुन लागेको छ । भारत सरकारको निमन्त्रणमा १८ जेठमा तीनदिने औपचारिक भ्रमणका लागि रवि नयाँदिल्ली प्रस्थान गर्दै छन् । यो भ्रमण सीमा विवाद चर्किएको र भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौं भ्रमण स्थगित भएको पृष्ठभूमिमा हुन लागेको हो ।
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको छ । पार्टीको प्रमुख हैसियतमा रवि लामिछानेको यो पहिलो प्रमुख विदेश भ्रमण हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई सन्देश दिँदै भारत भ्रमणको निम्तो दिएका थिए । तर, प्रधानमन्त्री बालेनको भ्रमण अझै तय नभएको अवस्थामा रास्वपा सभापतिको भ्रमणलाई कूटनीतिक क्षेत्रमा विशेष चासोका साथ हेरिएको छ ।
रविले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरी, विदेश सचिव विक्रम मिस्री र भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यी भेटहरूले दुई देशबीचको सम्बन्ध सुधार, सीमा समस्या, व्यापार, यातायात पूर्वाधार र सुरक्षा सहयोगजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त पुरानो, सांस्कृतिक, धार्मिक र जनस्तरको छ । खुला सीमा, पारिवारिक सम्बन्ध, भाषा, संस्कृति र अर्थतन्त्रको अन्तरनिर्भरताले दुई देशलाई जोड्छ । तर, यही सम्बन्ध सधैं सुमधुर रहेको छैन । सीमा विवाद, पानी स्रोत, व्यापार घाटा, भारतको नेपाल नीतिप्रति नेपालीहरूमा रहेको असन्तुष्टि र नेपालको आन्तरिक राजनीतिमा भारतीय प्रभावको आरोपले बारम्बार तनाव सिर्जना गरेको छ ।
विगतमा नेपाली राजनीतिक दलहरूबीचको कमजोरी र विभाजनलाई भारतले आफ्नो स्वार्थअनुसार प्रयोग गरेको आरोप लाग्दै आएको छ । अब परिस्थिति फेरिएको छ । रास्वपाको नेतृत्वमा शक्तिशाली सरकार गठन भएको छ । यस्तो अवस्थामा भारतले पनि आफ्नो कूटनीतिक शैलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ । सानो छिमेकीलाई दबाउने वा कमजोरीमा खेल्ने नीतिले दीर्घकालीन रूपमा दुवै देशलाई फाइदा गर्दैन ।
रवि लामिछानेको भ्रमणले दुई पक्षीय सम्बन्धमा सुधार ल्याउने आशा गरिएको छ । उनी कूटनीतिक रूपमा सक्रिय र स्पष्ट वक्ताका रूपमा चिनिन्छन् । यस भ्रमणमा सीमा समस्या समाधान, व्यापार सन्तुलन, ऊर्जा सहयोग, यातायात पूर्वाधार (विशेष गरी रेल र सडक) र सुरक्षा मामिलामा ठोस छलफल हुन सक्छ । रविले पनि नेपालको स्वाभिमान, राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा गर्दै सम्बन्ध सुधारको प्रयास गर्नेछन् भन्ने विश्वास छ । यो भ्रमणले प्रधानमन्त्री बालेनको भविष्यको भारत भ्रमणको बाटो पनि तयार पार्न सक्छ ।
सम्बन्ध सुधारका लागि एकतर्फी प्रयास पर्याप्त हुँदैन । नेपालले आफ्नो आन्तरिक एकता कायम गर्नुपर्छ । राजनीतिक दलहरूले राष्ट्रिय हितमा साझा धारणा बनाउनुपर्छ । भारतले पनि नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप नगर्ने, सीमा विवादलाई वार्ताबाट समाधान गर्ने र नेपालको विकासमा साझेदारको भूमिका खेल्ने नीति अपनाउनुपर्छ । दुवै देशले कूटनीतिक परिपक्वता देखाउनु पर्ने समय आएको छ ।
यस सन्दर्भमा युरोपेली देशहरूले दशकौंदेखि सिकाएको पाठ उल्लेखनीय छ । एकअर्कासँग इतिहासमा युद्ध र द्वन्द्व भएका देशहरूले पनि आर्थिक सहयोग, खुला सीमा र साझा बजार मार्फत समृद्धि हासिल गरे । जर्मनी र फ्रान्स, पूर्वी र पश्चिमी युरोपबीचको सहकार्यले देखाएको छ कि समृद्ध र शान्त छिमेकी आफ्नै प्रगतिको आधार बन्न सक्छ । नेपाल र भारतले पनि यही मोडेल अपनाउन सक्छन् । सानो र ठूलो छिमेकीबीचको असन्तुलनलाई सम्मानजनक साझेदारीमा बदल्न सकिन्छ । पानी, ऊर्जा, पर्यटन, कृषि र प्रविधिमा संयुक्त लगानी र सहकार्यले दुवै देशको अर्थतन्त्रलाई फाइदा पु¥याउन सक्छ ।
त्यसैले भ्रमणलाई प्रतीकात्मक मात्र नबनाई ठोस नतिजा उन्मुख बनाउनुपर्छ । सीमा समस्याको दीर्घकालीन समाधान, व्यापार घाटा घटाउने ठोस योजना र जनस्तरको विश्वास बढाउने कार्यक्रमहरू आवश्यक छन् । रवि लामिछानेको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक मोड ल्याउन सक्छ । यो भ्रमणले तनाव घटाउने, विश्वास निर्माण गर्ने र सहकार्यका नयाँ ढोका खोल्ने अवसर हो । तर, एउटै भ्रमणले सबै समस्या समाधान हुँदैन । निरन्तर कूटनीतिक प्रयास, पारस्परिक सम्मान र व्यावहारिक समाधान खोज्ने दृष्टिकोणबाट मात्र दिगो सुधार सम्भव छ । नेपाल र भारत दुवैले बुझ्नुपर्छ कि सुमधुर सम्बन्ध दुवैको हितमा छ । रविको भ्रमणले यो दिशामा सकारात्मक सुरुवात होस् भन्ने अपेक्षा गरौं । जटिलताहरू छन्, तर सम्भावनाहरू पनि उत्तिकै छन् । सही दिशा र इमानदार प्रयासले सम्बन्ध निश्चय पनि सुधारिनेछ ।


