काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
बुधबार नेपाल प्रेस युनियनको विधान सभामा बोल्दै सरकारले विज्ञापन वितरणमा एकाधिकार कायम गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्रै सूचना दिने निर्णयले मिडियामाथि अंकुश लगाउने काम गरेको जनाइन् ।
उनका अनुसार, ‘अहिलेको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने होकी भनेर ससंकित छ पत्रकार महासंघ । वर्तमान सरकारले विज्ञापनमा एकाधिकार कायम गरेर सरकारी माध्यमलाई मात्र सूचना दिने भनेर जुन परिपत्र निर्णय गरेको छ । यो मिडियामाथि अंकुश लगाउने काम वर्तमान सरकारले सुरू गरेको छ ।’
उनले थप्दै भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रता हनन् भइरहँदा कहीँ कतैबाट ६२/६३ को आन्दोलनको झझल्को महसुस गरेको छु । लोकतन्त्रसँग विश्वास गर्ने दलहरूसँग हामीले लड्दा उहाँहरूले जति सजिलेसँग हाम्रो कुरा सुन्नुहुन्थ्यो । तर, अहिले नबोल्ने दुईतिहाइको सरकार छ । बोलेर केही हुन्छ जस्तो लाग्दैन ।’


