एजेन्सी । विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष वा त्यसभन्दा बढी उमेर भएका केवल सात जनाले खेलेका छन्। यसपालि फिफा विश्वकप हुँदा उक्त सूचीमा कम्तीमा पाँच खेलाडी थपिने सम्भावना छ।
अहिलेसम्म आयोजित विश्वकप खेल्ने सबैभन्दा ‘पाका’ खेलाडी इजिप्टका एसाम एल हदारी हुन्। विश्वकप २०१८ मा आफ्नो नाममा कीर्तिमान रहने गरी खेल्दा उनी ४५ वर्ष १६१ दिनका थिए।
समूह चरणमा साउदी अरबविरुद्धको खेलमा सहभागी हुँदा गोलरक्षक एल हदारीले त्यसअघिको रेकर्डलाई दुई वर्षभन्दा बढीले भङ्ग गरेका थिए। उक्त खेलमा इजिप्ट साउदी अरबसँग २-१ ले पराजित भएको थियो।
शीर्ष स्थानमा रहेका पाका खेलाडीहरू सबै जना ३९.५ वर्षभन्दा बढी उमेरका छन्।
एल हदारी, फारिद मोन्द्रागोन, रोजर मिला र प्याट जेनिङ्स मात्रै ४१ वर्ष हुँदा कम्तीमा एक पटक विश्वकपमा सहभागी भएका थिए।
यसपालि को?
यसपालि विश्वकपमा सहभागी हुने टोलीहरूमा परेका खेलाडीहरूमध्ये स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन सबैभन्दा पाका हुन्। उनी ४३ वर्षका भए। स्कटल्यान्ड २८ वर्षपछि विश्वकपमा पुगेको हो।
पोर्चुगलका ४१ वर्षे कप्तान क्रिस्टियानो रोनाल्डोले यसपालि छैटौँ पटक विश्वकप खेल्न लागेका छन्। आर्जेन्टिनाका मेस्सी र उनी दुवै जनाले छ विश्वकप खेलेर नयाँ कीर्तिमान बनाउने छन्। रोनाल्डो उमेरका आधारमा ज्येष्ठ खेलाडीहरूको सूचीमा पर्ने छन्।
बीबीसी


