काठमाडौं । पाँच दिने चलचित्र छायाङ्कन तालिम र कार्यशाला गोष्ठी सुरु भएको छ ।
नेवाः फिल्म सोसाईटीको आयोजनामा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमका अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले कार्यशालाको उद्घाटन गर्दै नेपालको आदिवासी जनजाति चलचित्रको उत्थान र संरक्षणका लागि बोर्ड निरन्तर रुपमा सक्रिय रहेकोले आलोचनामा मात्र गरेर बस्ने प्रवृत्ति त्यागेर आफ्नो समुदाय र मातृभाषी चलचित्रलाई टेवा दिन अग्रसर हुन आह्वान समेत गरेका गरेका थिए ।
वरिष्ठ दृश्य सम्पादक माणिक उराय् र वरिष्ठ निर्देशक प्रकाश सायमिले यस किसिमको कार्यशालाबाट आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी नेवाः चलचित्र क्षेत्रको उत्थानमा टेवा दिन आग्रह गरे ।
सोसाइटीका निवर्तमान अध्यक्ष बिराजकाजी राजोपाध्यायले नेवाःसाथै समग्र मातृभाषी चलचित्र क्षेत्रमा नीतिगत तहमा भोग्दै आएको समस्याको चर्चा गर्दै मूलधार भनिएको व्यावसायिक चलचित्रको बजार र मातृभाषी चलचित्रको बजारलाई एउटै दृष्टिकोणले हेर्न नमिल्ने धारणा राखे ।
सोसाइटीका अध्यक्ष लुःजः सिंहले सोसाइटीले यहि असार भित्रै चलचित्रमा संचार क्षमता विकास तालीम, छायाङ्कनको बृहत तालीम, उद्घोषण तालीमको आयोजना गर्न लागेको जानकारी गराए । सोही कार्यक्रममा सोसाइटीका आजीवन र साधारण सदस्यहरुले परिचय पत्र वितरण गरिएको थियो । यसका साथै संस्थाका सल्लाहकारत्रय नीर शाह, माणिक उराय् र प्रकाश सायमिलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।


