काठमाडौं । ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ ।
श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि मन्त्रालयको टोलीले शुक्रबार म्यानपावरमा छापा मारेको हो ।
छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) र सात लाख ९० हजार नगद बरामद भएको जनाइएको छ ।
बरामद नगदको कुनै रसिद फेला नपरेको यादवले जानकारी गराए ।
प्रधानमन्त्री कार्यालयबाट जानकारी आएपछि तत्काल अनुगमन तथा छापा प्रक्रिया अघि बढाइएको उनको धारणा छ ।
मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
स्वकीय सचिव यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो आएमा मन्त्रीको सचिवालय २४सै घण्टा तत्पर रहने जनाए ।


