काठमाडाैं । आज धनुषामा सुकुम्बासीहरू आन्दोलनमा ओर्लिएका छन्।
आज शुक्रबार बिहानै धनुषाको क्षीरेश्वर नगरपालिकाका सुकुम्बासीहरूले मुख्य सडक अवरूद्ध गरेर प्रदर्शन गरेका थिए ।
संघीय सरकारको परिपत्रपछि क्षीरेश्वर नगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो। त्यसको विरोधमा शुक्रबार बिहान ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित क्षीरेश्वर-७ औरही पुलनेर सहभागी भएर प्रदर्शन गरेका हुन्। उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।
उनीहरूले टायर बालेर प्रदर्शन गरेपछि प्रहरी त्यहाँ पुगेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बमका अनुसार केही बेर मात्रै प्रदर्शन गरेका थिए।
‘क्षीरेश्वर नगरपालिकाले सुकुम्बासी वस्ती खाली गर्न सूचना जारी गरेको थियो। त्यसको विरोधमा उहाँहरूले प्रदर्शन गर्नुभएको थियो। टायर बालेर बाटो अवरूद्ध पारेका थिए।
हाम्रो टोली गएर क्लियर गरेको हो,’ उनले भने। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार अहिले सुकुम्बासीहरू छलफल गर्न नगरपालिकाको कार्यालय गएका छन्। ‘केहीबेर प्रदर्शन भएको थियो। अहिले उहाँहरू जनप्रतिनिधिहरूसँग छलफल गर्न जानुभएको छ,’ उनले भने। प्रदर्शनमा झन्डै १५० बढी सुकुम्बासीहरू सहभागी थिए।


