काठमाडाैं । आज भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो ।
यो दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ आज पहिलोपटक मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२५ अप्रिलमा प्रत्येक वर्ष अप्रिल २९ लाई उक्त दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
सोहीअनुरूप राष्ट्रसङ्घका सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय तथा सम्बन्धित अन्तरराष्ट्रिय सङ्ठनहरूलाई यसको स्मरणमा सहकार्य गर्न आह्वान गरेको छ । प्राकृतिक विपत्तिमध्ये भूकम्पलाई सबैभन्दा घातक मानिन्छ । म्यान्मा र अफगानिस्तानमा पछिल्लो समयका शक्तिशाली भूकम्पले पूर्वाधार ध्वस्त पार्नुका साथै समुदायलाई विस्थापित गरेको छ । यसबाट ती देशको दीर्घकालीन सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर पारेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९०० यता कम्तीमा १२ वटा ठूला भूकम्पले प्रत्येकमा ५० हजारभन्दा बढीको ज्यान लिएको छ । विश्वव्यापी विपद् क्षतिमध्ये एक चौथाइभन्दा बढी हिस्सा भूकम्पजन्य क्षतिले ओगट्ने गरेको र पछिल्ला दशकहरूमा खर्बौँ डलर बराबरको आर्थिक नोक्सानी भएको छ । प्रत्यक्ष विनाशबाहेक भूकम्पले आगलागी, सुनामी र पहिरो जस्ता थप जोखिमसमेत उत्पन्न गराई आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा अकल्पनीय क्षति पु¥याएको छ ।


