बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ ।
गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । “हामीसँग कोइला, ढुङ्गालगायत कच्चा पदार्थ छैनन् ।
तत्काल कच्चा पदार्थ आउने सम्भावना पनि छैन, कच्चा पदार्थका लागि सम्झौता भए पनि रकमको अभाव देखाउँदै ठेकेदारले कच्चा पदार्थ ढुवानी गर्न नसकेकाले उद्योग बन्द गर्नुपरेको छ”, उद्योगमा भएको कच्चा पदार्थबाट पाँच हजार टन क्लिङ्कर उत्पादन गरेर अहिले सिमेन्ट ‘प्याकेजिङ’ भइरहेको उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठले भने । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमताको उद्योग सधैँ बन्दप्रायः छ ।
क्लिङ्कर उत्पादनका क्रममा उद्योगको मेसिनमा केही समस्या आएकोले मेसिनको मर्मतको भइरहेको छ । अर्थाभावमा कर्मचारीले १० महिनादेखि तलब पाएका छैनन् । उद्योगमा १६६ जना स्थायी, १०० दैनिक ज्यालादारी र ५२ जना सुरक्षाकर्मी छन् ।


